‘जेनजी’ आन्दोलनको मौकामा भागेका ८ हजारभन्दा बढी कैदी अझै फरार


काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते कारागार तोडफोड गरी भागेकामध्ये ८ हजार ३७५ जना कैदीबन्दीहरू अझै फरार रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार, भागेका कुल कैदीबन्दीमध्ये झन्डै ५७ प्रतिशत अझै सरकारको नियन्त्रण बाहिर छन् ।
विभागको तथ्यांकअनुसार, देशभरका २८ वटा कारागार र ९ वटा बाल सुधारगृहबाट कुल १४ हजार ५५५ जना कैदीबन्दी भागेका थिए । तीमध्ये अहिलेसम्म ६ हजार १७९ जना मात्रै फर्किएका छन् ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, कारागारबाट भागेका १३ हजार ५९१ मध्ये ७ हजार ७५३ जना फरार छन् भने बाल सुधारगृहबाट भागेका ९६४ मध्ये ६२२ जना अझै पक्राउ परेका छैनन् ।
भाग्न खोज्नेहरूलाई नियन्त्रणमा लिने क्रममा १० जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ५ जना कैदी र ५ जना बाल सुधारगृहका थिए । यसले कारागारको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
Facebook Comments