भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला झोलुङ्गे पुल निर्माण
१ सय ५६ परिवार लाभान्वित


तनहुँ । तनहुँको भानु नगरपालिकाका दुई वडा जोड्ने ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माणपश्चात् आवतजावतमा सहज भएको छ ।
पुल अभावमा समस्या भोगिरहेका यस भेगका जनताको माग सम्बोधन गर्दै यहाँ गत वर्षको असारमा पुल निर्माण गरिएको थियो । भानु नगरपालिका, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र गण्डकी प्रदेश सरकारको सहयोगमा भानु नगरपालिका–१ साखेटार र वडा नं ५ ढाँडखोला जोड्ने गरी पुल निर्माण गरिएको हो ।
सङ्घीय सरकारको ८५ प्रतिशत, स्थानीय सरकारको १३ र स्थानीय उपभोक्ताको दुई प्रतिशत साझेदारीमा पुल निर्माण गरिएको भानु नगरपालिका–५ का वडाध्यक्ष नहकुल अधिकारीले जानकारी दिए। कूल रु ७१ लाख ३१ हजार ५१८ को लागतमा पुल निर्माण गरिएको हो ।
यसमा नगरपालिकाबाट रु नौ लाख ३० हजार ४९७, झोलुङ्गे पुल क्षेत्रफल कार्यक्रमबाट रु ५४ लाख ७९ हजार ४६, गण्डकी प्रदेश सरकारबाट रु पाँच लाख ८२ हजार ७४४ र स्थानीय उपभोक्ताबाट रु एक लाख ३९ हजार २३० लागत साझेदारी रहेको छ ।
एक सय २० मिटर लम्बाइको पुल निर्माणपछि यहाँका एक सय ५६ घरका नौ सय ३६ जना लाभान्वित भएका छन् ।
Facebook Comments