बाढीले भत्किएको रसुवागढी सडक मर्मत, कुलुङखोलाको पुल जोखिममा

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68cf8177122b3.jpg

रसुवा । गत असार र साउनमा आएको बाढीले क्षति पुर्याएको स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको मर्मत कार्य सम्पन्न भएको छ । सडक विभाग र रसुवागढी जलविद्युत् आयोजनाको संयुक्त प्रयासमा सडक मर्मत गरिएको हो । 

यद्यपि, टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसकिएकाले भोटेकोसी खोलाको नजिकबाट यातायात सञ्चालनमा ल्याइएको छ । यो बाटो हिउँद यामभरका लागि मात्र सहज हुने जनाइएको छ, किनकि पानीको बहाव बढेमा पुनः समस्या आउन सक्छ ।

यसैबीच, गोसाइँकुण्ड गाउँपालिका–३ स्थित कुलुङखोलामा रहेको पक्की पुलको जग निरन्तर वर्षाका कारण जोखिममा परेको छ । गल्छी–मैलुङ–रसुवागढी राजमार्ग सुधार आयोजनाका इन्जिनियर कुमारविक्रम पराजुलीका अनुसार, पुलबाट अहिले नियमित यात्रुवाहक बस र हल्का सवारीसाधन मात्र सञ्चालन गर्न दिइएको छ भने मालबाहक सवारीसाधनलाई रोक लगाइएको छ ।

बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको र यसको पुनर्निर्माणको काम जारी रहेको छ । मितेरी पुल बगेपछि भन्सारबाट साढे सात अर्बभन्दा बढी राजस्व नोक्सान भएको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

सडककै कारण रसुवागढी जलविद्युत् आयोजनाको बाँध मर्मतका लागि आवश्यक निर्माण सामग्री ढुवानी गर्न नसक्दा आयोजनाले १ करोड २७ लाख ८७ हजार घाटा व्यहोरेको छ । आयोजनाका प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले सडकको अवरोधले गर्दा मर्मत कार्य अगाडि बढाउन नसकिएको बताए ।


Facebook Comments