बेलायत, अस्ट्रेलिया र क्यानडाले दियो प्यालेस्टाइनलाई एक राज्यको मान्यता

User Image मेयरसाप डेस्क | ९ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d0284cbc763.jpg

लण्डन । बेलायत, अस्ट्रेलिया र क्यानडाले आइतबार प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । यसलाई दशकौँदेखिको पश्चिमी विदेश नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । 

पोर्चुगलले पनि आइतबार नै प्यालेस्टाइन राज्यको दर्जालाई मान्यता दिने बताएको छ, यद्यपि समाचार तयार पार्दासम्म यसको औपचारिक घोषणा भएको छैन । 

करिब दुई वर्ष पहिले अर्थात् सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि गाजामा भएको इजरायली युद्धलाई लिएर आएको युरोपेली मुलुकसहितका देशको पछिल्लो नीतिले इजरायल ठूलो अन्तर्राष्ट्रिय दबाबमा परेको छ।

“आज, प्यालेस्टिनी र इजरायलीहरूको लागि शान्तिको आशा पुनर्जीवित गर्न, र दुई–राज्य समाधानको लागि, संयुक्त अधिराज्य (बेलायत)ले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ,” बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले सामाजिक सञ्जाल एक्समा एक सन्देश लेख्दै बताएका छन् । 

बेलायत र क्यानडा यो कदम चाल्ने पहिलो जी ७ देश बनेका छन्, फ्रान्स र अन्य देशहरूले पनि न्यूयोर्कमा सोमबार सुरु हुने वार्षिक संयुक्त राष्ट्रसङ्घीय महासभामा निर्णयलाई पछ्याउने अपेक्षा गरिएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेखेका छन्, “क्यानाडाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ र प्यालेस्टाइन र इजरायल दुवैको शान्तिपूर्ण भविष्यको प्रतिबद्धता निर्माण गर्न हाम्रो साझेदारी प्रदान गर्दछ।”

यो प्यालेस्टाइन र प्यालेष्टिनी नागरिकको दशकौँ लामो राज्यको महत्वाकांक्षाको लागि एक ऐतिहासिक क्षण हो ।

यसअघि, पश्चिमी राष्ट्रहरूको शक्तिशाली गठबन्धनले लामो समयदेखि यो इजरायलसँग वार्ता गरिएको शान्ति सम्झौताको एक भागको रूपमा मात्र आउनुपर्ने बताउँदै आएको थियो । 

–नेतन्याहूद्वारा आक्रोश व्यक्त–

“यो कदमले ती देशहरू संयुक्त राज्य अमेरिका र इजरायलसँग प्यालेस्टाइनलाई हेर्ने बिषयमा फरक छन् भन्ने देखाएको छ,” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रोशित प्रतिक्रिया दिएका छन्। उनले संयुक्त राष्ट्रसङ्घीय वार्तामा यसको विरोध गर्ने बताएका छन् । 

“प्यालेस्टाइन राज्यको आह्वानले ‘हाम्रो अस्तित्वलाई खतरामा पार्नेछ र आतङ्कवादको लागि बेतुकको इनाम’को रूपमा काम गर्नेछ,” नेतान्याहूले आइतबार भने । 

–ऐतिहासिक कदम–

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिनु यस क्षेत्रमा दिगो शान्तिका लागि आवश्यक कदम भएको आइतबार बताएका छन् । 

अब्बासले तीन देशहरूको कदमको स्वागत गर्दै भन, “यो अन्तर्राष्ट्रिय वैधता अनुसार न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने दिशामा महत्त्वपूर्ण र आवश्यक कदम हो।” अब्बासले गाजामा युद्धविरामको आह्वान पनि गरेका छन् । 

“उनले भने, “अहिलेकोे प्राथमिकतामा युद्धविराम गर्ने, मानवीय सहायतालाई प्रवेश गर्न अनुमति दिने, सबै बन्धक र कैदीहरूको रिहाई सुनिश्चित गर्ने र गाजा पट्टीबाट इजरायलको पूर्ण फिर्ती सुनिश्चित गर्ने हुनेछ।” 

उनले थपे, “प्यालेस्टाइन राज्यलाई पूर्ण जिम्मेवारी लिन सक्षम बनाउने, पुनः प्राप्ति र पुनर्निर्माणलाई अगाडि बढाउने र बस्ती गतिविधि रोक्ने र बसोबास बिस्तार गर्ने र हिंसा रोक्ने कदम निर्विकल्प बिषय भएको छ।”

–प्यालेस्टिनीहरूको अधिकारको विजय भएको हमासको भनाइ– 

हमासका एक वरिष्ठ अधिकारीले आइतबार बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा प्रशंसा गर्दै यसलाई प्यालेस्टिनीहरूको अधिकारको विजयको रूपमा वर्णन गरेका छन्।

“यी घटनाक्रमहरूले प्यालेस्टाइनी अधिकार र हाम्रो मुद्दाको न्यायको विजयको प्रतिनिधित्व गर्दछ र एक स्पष्ट सन्देश दिन्छ । कब्जा आफ्नो अपराधमा जतिसुकै टाढा गए पनि यसले हाम्रो राष्ट्रिय अधिकार कहिल्यै मेटाउन सक्दैन,” हमास नेता महमुद मर्दावीले एएफपीसँग भने। 


Facebook Comments