महोत्तरीको सोनामाई मन्दिर : धार्मिक आस्था र तान्त्रिक विश्वासको केन्द्र

No Author Assigned | २०८२ असोज ८ गते १२:४५
Image of https://mayorsap.com/storage/photos/10/68d38f7e7234a.jpg

जलेश्वर । महोत्तरीको औरही नगरपालिका–७ मा अवस्थित सोनामाई मन्दिर मिथिला क्षेत्रकै एक प्रमुख शक्तिपीठको रूपमा प्रख्यात छ । सदरमुकाम जलेश्वरबाट २३ किलोमिटर उत्तरमा रहेको यो मन्दिर तान्त्रिक विधि, झारफुक र मनोकामना पूरा हुने विश्वासका कारण चर्चित छ ।

मन्दिरका पुजारी कामेश्वर झाका अनुसार, यहाँ विशेषगरी भूत, प्रेत, बोक्सीबाट सताइएका व्यक्तिहरू झारफुकबाट निको हुने विश्वास छ । यसबाहेक सन्तान नभएकाहरूले सन्तान प्राप्ति, भाकल पूरा हुने र विभिन्न दुःखकष्टबाट मुक्ति पाउने विश्वासले यहाँ दैनिकजसो भक्तजनको भीड लाग्ने गर्छ ।

करिब पाँच सय वर्षअघि घना जङ्गल रहेको यस क्षेत्रमा पाँचवटा भैँसी हराएपछि सोनासति महारानी प्रकट भई भैँसी फिर्ता गर्न शर्त राखेको किंवदन्ती छ । त्यही घटनापछि यहाँ माताको पूजा र आरती हुन थालेको मानिन्छ । अर्को एक कथाअनुसार, जेलमा परेका एक व्यक्तिले मन्दिर बनाइदिने भाकल गरेपछि जेलमुक्त भएको र उनैले मन्दिर निर्माण गरेको जनविश्वास छ ।

मन्दिरमा वर्षभरि पूजाआजा भए पनि दसैँमा यहाँको रौनक निकै विशेष हुन्छ । घटस्थापनादेखि विजयादशमीसम्म विशेष पूजा र ठूलो मेला लाग्छ। खासगरी, यस मन्दिरमा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन पूजाआजा, बलि प्रदान र भूत मेलामा सहभागी हुन आउँछन् ।

मन्दिर परिसरमा गणेश, राजदेवी, सरस्वती लगायतका देवीदेवताका मूर्तिहरूका साथै तपसी बाबाको धुनी पनि छ, जुन वर्षको ३६५ दिन चौबीसै घण्टा बलिरहन्छ । मनोकामना पूरा भएपछि यहाँ लड्डु, मिठाई, बोका, परेवा, राँगा लगायतका पञ्चबलि, गरगहना र विभिन्न आकारका घण्टी चढाउने प्रचलन पनि छ । स्थानीयहरूले यस मन्दिरलाई धार्मिक तथा पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिने बताएका छन् ।


Facebook Comments