पृथ्वी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र


मलेखु । धादिङको पृथ्वी राजमार्ग बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीमा पहिरो खस्दा पुनः अवरुद्ध भएको छ । आज बिहान करिब १० बजेबाट सडकमा ठूलो परिमाणमा माटो र ढुङ्गा खसेपछि दुवैतर्फको सवारी आवागमन रोकिएको छ ।
दसैँ सुरु भएसँगै घर फर्किने यात्रुहरूको अत्यधिक चाप रहेको बेला राजमार्ग अवरुद्ध हुँदा हजारौँ सवारी साधन बाटैमा रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरी धादिङका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार, अहिले सडक खुलाउनका लागि पहिरो हटाउने काम भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक भेषराज रिजालले रोकिएका सवारी साधनलाई सम्भावित जोखिम कम हुने सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
अवरुद्ध स्थान नजिकै मात्र नभई अन्य ठाउँमा पनि पहिरोको उच्च जोखिम रहेकाले यात्रुहरूलाई सतर्क रहन र आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । यसअघि पनि यसै क्षेत्रमा सोमबार राति सुक्खा पहिरो खस्दा राजमार्ग १७ घण्टासम्म अवरुद्ध भएको थियो ।
Facebook Comments