काठमाडौंमा अन्तर्राष्ट्रिय गुणस्तरका ट्राफिक कोन सडकमा राखिँदै

User Image मेयरसाप डेस्क | १ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d4db8f9699f.jfif

काठमाडौं । काठमाडौं महानगरपालिका (कामनपा) को शहरी व्यवस्थापन विभागले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय गुणस्तरका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ । नेपालमै उत्पादित यी सामग्रीहरूले उपत्यकाको ट्राफिक जाम र अव्यवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ ।

सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकूल निधिका अनुसार, यी नयाँ ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटर छ, जुन पहिले प्रयोग गरिने कोनभन्दा निकै ठूलो हो । यसले सवारी चालकलाई अनुशासित बनाउन सहयोग पुग्ने विश्वास छ ।

यी कोनहरू प्वालरहित र ३ देखि ५ केजी तौलका छन्, जसले बाइक चालकहरूले सजिलै हटाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ । कोनहरू राति पनि स्पष्ट देखिन्छन् । कुल १,२५० सेट खरिद गरिएका छन्, जसमा दुई कोनलाई जोड्ने २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार समेत समावेश छ ।

निधिका अनुसार, यी सामग्रीहरू दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा सवारी चलाउने प्रवृत्ति) र सडकमा च्यानलाइजेसनको कमीलाई सम्बोधन गर्न प्रयोग गरिनेछ । ट्राफिक इन्जिनियरिङको सिद्धान्त अनुसार, सडक चौडा नगरी च्यानलाइजेसन (लेन विभाजन) गर्नु नै ट्राफिक व्यवस्थापनको आधार हो ।

पहिलो चरणमा बुधबार सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड गरी तीन स्थानमा कोनहरू प्रयोग गरिएको छ । भद्रकालीबाट सिंहदरबारतर्फ कोनको लस्कर राख्दा विपरीत दिशाबाट आउने सवारीको चाप कम हुने र दुर्घटना तथा जामको समस्या घट्ने महानगरको अपेक्षा छ ।

यो कार्य कामनपा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टोलीको सहकार्यमा सम्पन्न भएको हो । सहायक विज्ञ निधिले डेटा–आधारित वैज्ञानिक दृष्टिकोण र सडक प्रयोगकर्तादेखि व्यवस्थापन निकायसम्म सबैको सहकार्य नै ट्राफिक व्यवस्थापनको सफलताका लागि अनिवार्य रहेको बताएका छन् ।


Facebook Comments