माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु


काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक प्रज्ञा भवन, कमलादीमा सुरु भएको छ । महासचिव देव गुरुङले एजेन्डाहरू प्रस्तुत गरेपछि बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यो बैठकले जेनजी आन्दोलनपछिको विकसित राजनीतिक परिस्थिति, विशेष महाधिवेशनको तयारी र पार्टी एकता लगायतका विषयमा छलफल गर्नेछ ।
माओवादीले आजै केन्द्रीय समितिसहित सबै कमिटीहरू भङ्ग गरेर प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।
पार्टीभित्र उपमहासचिव जनार्दन शर्मा लगायतका नेताहरूले विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तनको माग गर्दै आएका छन् ।
छलफललाई व्यवस्थित बनाउन केन्द्रीय सदस्यहरूलाई भौगोलिक र गैरभौगोलिक गरी १२ वटा समूहमा विभाजन गरिनेछ, जसले सामूहिक रूपमा छलफल गरेर आफ्नो धारणा प्रस्तुत गर्नेछन् ।
केन्द्रीय कार्यालय सचिव गणेशमान पुनका अनुसार दुई दिनसम्म चल्ने बैठकमा सहभागीहरूबाट हल भाडा र व्यवस्थापन खर्चका लागि एक हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
Facebook Comments