चार घण्टासम्म राजधानी ठप्प, एम्बुलेन्समै चिच्याए बिरामी

User Image कृष्णबहादुर तामाङ | २ हप्ता अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d63e8d2b921.jpg

काठमाडौं । नेपालको मुटु मानिने संघीय राजधानी काठमाडौंको चाबहिल–चुच्चेपाटीदेखि सुन्दरीजलसम्मको सडकखण्ड अहिले खाल्डाखुल्डीले ग्रस्त छ । खाल्डाखुल्डीले ग्रस्त बनेको यो सडकमा सामान्य यात्रा नभई मानिसको जीवनको शोक बनेको छ । विशेषगरी जोरपाटी र गोकर्णेश्वर–हनुमानचोक क्षेत्रमा सडकको अवस्था एकदमै दयनीय छ ।

गत बुधबार सोही क्षेत्रमा करिब चार घण्टासम्म ट्राफिक ठप्प हुँदा एम्बुलेन्सभित्र बिरामी र आफन्तको बिचल्ली भएको दृश्यले राज्यको असफलता र सरकारी निकायको उदासीनताको ज्वलन्त उदाहरण हो ।

यातायात अभियन्ता कृष्ण बहादुर तामाङले सडक विभागले गरिरहेको मर्मतलाई आपराधिक लापरबाहीको संज्ञा दिएका छन् । सडक विभागले स्थायी समाधान दिनुको सट्टा वर्षौँदेखि खाल्डोमा गिट्टी–बालुवा फाल्ने काम मात्रै गर्दा ती सामग्री वर्षामा छरपस्ट भई सवारी चिप्लिने र पैदलयात्रीलाई चोट पुग्ने अवस्था आएको छ ।

स्थानीय नागरिकले सडकबाट उछिट्टिएको ढुंगाले पैदलयात्रीको आँखा फुट्दा वा सडकको कारण एम्बुलेन्समै बिरामीको मृत्यु हुँदा सडक विभागका हाकिम र कर्मचारी नै जिम्मेवार हुने भन्दै नैतिक प्रश्न उठाएका छन् ।

स्थानीयले सरकार र विभागलाई तत्काल जोरपाटी र गोकर्णेश्वर–हनुमानचोक सडक खण्डका खाल्डाहरू स्थायी रूपमा मर्मत गर्न, छरिएका गिट्टी–बालुवा तुरुन्त हटाउन, र पटकपटकको चेतावनीपछि पनि मौन बसेका अधिकारीहरूलाई जवाफदेहिताको दायरामा ल्याउन माग गरेका छन् ।

स्थानीयका अनुसार, हरेक खाल्डो राज्यको विवेकमा बनेको घाउ हो र अब सडक सुरक्षालाई जीवन–मरणको प्रश्नका रूपमा लिनैपर्छ । सरकारले तुरुन्तै कारबाही नगरेमा नेपालको अन्तर्राष्ट्रिय छवि मानव–निर्मित त्रासदीहरूको देशका रूपमा स्थापित हुने चेतावनी दिँदै सडक विभागलाई तत्कालै काम सुरु गर्न आग्रह गरिएको छ ।


Facebook Comments