विघटित प्रतिनिधि सभाका १६ पदाधिकारीद्वारा सुविधाको गाडी फिर्ता


काठमाडौं । सरकारले मितव्ययिता अपनाउने नीति लिएसँगै विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत लिएको गाडी फिर्ता गरेका छन् ।
संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक तथा सचेतकले गाडी फिर्ता गरेका हुन् । यसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतक समेत छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने गत भदौ २४ गते सिंहदरबारमा आगलागी हुँदा सचिवालय परिसरमै जलेको थियो ।
सरकारको मितव्ययिताको निर्णयलाई कार्यान्वयन गर्न अब संसद् सचिवालयले पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष लगायतका पदाधिकारीको गाडी फिर्ताका लागि पनि पहल सुरु गरेको छ ।
Facebook Comments