पूर्वाधार विकाससँगै मणिकाधाम पर्यटकीय गन्तव्य बन्दै

User Image मेयरसाप डेस्क | ६ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d90b09d16cf.jpg

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८, चुरेफेदीस्थित धार्मिक तथा पर्यटकीयस्थल मणिकाधाम क्षेत्रमा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । प्राचीनकालदेखि पूजाआराधना हुँदै आए पनि भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको धामको विकासमा अहिले सङ्घीय सरकारको लगानी बढाइएको छ ।

बैजनाथ धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालका अनुसार मन्दिर परिसरमा सडक, खानेपानी, विद्युत् विस्तार, धर्मशाला र टेवा पर्खाल लगायतका काम भइरहेका छन् ।

सङ्घीय सरकारको २ करोड ४३ लाखभन्दा बढी लगानीमा आधुनिक धर्मशाला निर्माणको ९८ प्रतिशत काम सकिएको छ । यससँगै स्नानका लागि धारा र शौचालय पनि बन्दैछन् ।

रातिको समयमा हुने अन्धकार हटाउन पुल विद्युतीकरण कार्यक्रमअन्तर्गत विद्युत् विस्तारको काम सुरु भएको छ । वडाध्यक्ष रमेशबहादुर ऐरका अनुसार तिहारअघि नै धार्मिक क्षेत्र उज्यालो बनाउने योजना छ । मन्दिर परिसरलाई हराभरा बनाउन बिरुवा रोप्ने, मैदान सम्याउने र ’धार्मिक वन’ का रूपमा दर्ता गर्ने कार्य भइरहेको छ ।

समाजसेवी टेकबहादुर हमालले पछिल्ला तीन वर्षदेखि स्थानीय तहबाट कुनै बजेट उपलब्ध नभएको बताउँदै बाह्य स्रोतको बजेटले मात्र पूर्वाधार निर्माण सम्भव भएको उल्लेख गरे ।

समितिका संस्थापक अध्यक्ष दुर्गाप्रसाद भट्टले तीन दशकअघि झाडी सफा गरेर यो क्षेत्रको विकास सुरु गरिएको स्मरण गरे । धार्मिक महत्त्वसँगै थारु समुदायले यसलाई ’मुड्का’ नामले चिन्ने गर्दछन् । धाम परिसरमा सिद्धनाथ र बैजनाथ बाबाको प्राचीन मन्दिर रहेको छ ।

समितिले अब पुरिँदै गएको तालमा अटोजन बोरिङ जडान गर्नुपर्ने र गुरुकुल सञ्चालन गरी वैदिक शिक्षा जोगाउने गुरुयोजनासमेत अघि सारेको छ । साथै, गौँडी नालमा पक्की पुल निर्माणका लागि पहल भइरहेको छ, जसले वर्षात्मा भक्तजनको आवागमन सहज बनाउनेछ ।


Facebook Comments