जघन्य अपराध बाहेकका जेन-जी प्रदर्शनकारीलाई रिहा गर्न गृहको निर्देशन

User Image मेयरसाप डेस्क | १६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68d946cda944d.jpg

काठमाडौं । गृह मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई ’स्क्रिनिङ’ (छानबिन) गरी रिहा गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशनअनुसार, प्रहरी प्रधान कार्यालयले जघन्य अपराध र हातहतियार मुद्दामा संलग्नबाहेकका प्रदर्शनकारीलाई हिरासतमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ ।

काठमाडौंबाट ४३ जना र ललितपुरबाट २२ जना गरी ठूलो सङ्ख्यामा पक्राउ परेकामध्ये सामान्य गतिविधिमा संलग्नहरूलाई नपक्रन र पक्राउ परेकालाई रिहा गर्न गृहले निर्देशन दिएको एक प्रहरी अधिकारीले बताए ।

गृह मन्त्रालयले उच्चस्तरीय जाँचबुझ आयोग (जसको नेतृत्व गौरीबहादुर कार्कीले गर्नुभएको छ) को कार्यक्षेत्रभित्र पर्ने भएकाले तत्काल नियमित कारबाही अघि नबढाइने यसअघि नै जनाएको थियो ।

गृहको यो निर्देशनप्रति वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले आपत्ति जनाउँदै आयोग गठनलाई कारण देखाएर अपराधमा संलग्न व्यक्तिमाथि कुनै कारबाही नै अगाडि नबढाउनु उचित होइन भन्दै यसले घटनालाई ढाकछोप गर्न खोजेको टिप्पणी गरेका छन ।


Facebook Comments