गोरखा दरबारबाट हनुमान ढोकाका लागि फूलपाती पठाइयो

User Image मेयरसाप डेस्क | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da1d31495a0.jpg

गोरखा । बडादसैँ अन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकका अनुसार दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी फूलपातीसहितको डोली सरकारी गाडी (बा २ झ ३८८२) मा राखेर पठाएका हुन् ।

गोरखाकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईका अनुसार, बाजागाजासहितको र्याली निकालेर फूलपातीको बिदाइ गरिएको थियो ।

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँमा हनुमान ढोका दरबारबाट राजकाज सुरु गरेपछि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमान ढोका दरबारमा लगेर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखाबाट पठाइएको फूलपातीलाई आजै साँझ काठमाडौँको हनुमान ढोका दरबारमा हर्षबढाइँका साथ भित्र्याउने गरिन्छ । गोरखा दरबारको दसैँघरमा पनि आज साँझ हर्ष बढाइँका साथ फूलपाती भित्र्याइने तयारी छ ।


Facebook Comments