यो दसैँमा कहाँ घुम्न जाने ? यी हुन् ‘उत्कृष्ट’ ९ गन्तव्य !

User Image अम्बिका खड्का | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68da173340dd3.jpg

आजभोली व्यस्त जीवनशैलीका कारण युवाहरुलाई घुमघामका लागि समय छुट्याउन निकै मुस्किल छ । घुमघामका लागि भनेर एकैपटक ४ दिनभन्दा बढीको समय निकाल्नु – ‘ना बाबा ना’ । फेरि एक जनाको मात्र समय मिलेर भएन, घुम्न एक्लै जाने पनि होइन् । साथीहरुको पनि समय मिल्नै पर्यो । परिवारसँग जाँदा पनि सबैको एकै पटक समय मिल्दैन् । सबैको समय मिलाउँदा मिलाउँदै, योजना बनाउँदा बनाउँदै वर्ष बित्छ । 

घुम्ने भनेको साथीभाई र प्रकृतिसँग एकै पटक रमाउनु पनि हो । कामको चापले वर्ष दिनसम्म च्यापिएका युवाहरु कम्प्युटर, ल्यापटप, मोबाइलको स्कृन र कागजका ठेलीहरुबाट एकैछिनलाई पनि मुक्ति नपाउँदा उनीहरुमा फ्रस्टेसन समेत बढ्ने सम्भावना हुन्छ । त्यसैले पनि घुम्नु, प्रकृतीसँग रमाउनु इच्छा मात्र नभएर जरुरी पनि हो । 

वर्षभरीमा अलि लामो बिदा हुने भनेको दसैँ तिहारमा हो । कतिपयको त दसैँदेखि छठ पर्वसम्मै बिदा हुन्छ । यो बेला अरुको पनि बिदा हुने भएकाले साथी पाउन पनि खास्सै समस्या हुँदैन । दसैँदेखि छठसम्म बिदा हुनेहरु दसैँ तिहारको बीचमा घुम्न जाने गर्छन् । दसैँ तिहारको बीचमा समय मिल्नेका लागि भने चाडपर्व पनि नछुट्ने, घुम्न पनि पाउने एकदमै सहज समय हो । यति लामो बिदा नहुनेहरुका लागि भने दसैँको  वा तिहारको बिदाको समय पनि कुनै एक ठाउँ घुमेर आउन पर्याप्त हुन्छ । दसैँ तिहारको समय मौसमका हिसाबले पनि घुम्नका लागि अनुकुल मानिन्छ । 

तपाईँले पनि घुम्न जाने समय पाउनु भएको छैन भने यसरी दसैँ तिहारको बिदाको बेला समय निकाल्न सक्नुहुन्छ । कतिपयले त योजना समेत बनाइसक्नु भएको होला । नेपाल प्राकृतिक, ऐतिहासिक र धार्मिक विशेषताले भरिपूर्ण देश । यहाँ घुम्नका लागि अनगिन्ति ठाउँहरु छन् । तपाईँहरु आफ्नो रुचि, बजेट र समयअनुसार उपयुक्त ठाउँ छनौट गरेर घुम्न जान सक्नुहुन्छ ।

दसैँ तिहारको समयमा ट्रेकिङ जानका लागि उपयुक्त स्थानहरु
पाँच पोखरी
पाँच पोखरी सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पाखेरीहरुको समूह रहेको धार्मिक स्थल हो । समुन्द्र सतहबाट यो ४१०० मिटरको उचाइमा अवस्थित छ । काठमाडौंबाट जम्मा ४ दिनमा पुगेर फर्किन सकिने यो ट्रेकिङस्थल जम्मा ५ हजारमा पूरा गर्न सकिन्छ । घना जंगल, विभिन्न हिमाली फुलहरुको दृश्य, हिमाल पहाडको मनोरम दृश्य, हिउँदमा हिउँ खेल्न पाइने र गुँरासले ढाकिएका जंगलको आकर्षक दृश्य हेर्दै पाँच पाखरी पुग्न सकिन्छ । मनसुनको समयमा हो भने पाँच पोखरी नपुग्दै ढुंगामाथि समेत फुलेका फिक्का बैगुनी रङका सुन्दर फुलहरुले स्वागत गर्छन् । डाँडामा चढेर फुलहरुको बीचमा सजिएर ठक्क अडिएका पाँच वटा पोखरीहरुको दृष्य कुनै शब्दमा बयान गर्न सकिँदैन ।
स्थानः सिन्धुपाल्चोक
अवधिः काठमाडौंबाट ३ दिन, काठमाडौंबाट ५ घण्टाको सडक यात्रापछि ट्रेक सुरु
उचाईः समुन्द्र सतहबाट ४१०० मिटर
कठिनाइः मध्यम
लागतः काठमाडौंबाट कम्तिमा ५ हजारमा ट्रेक पूरा हुने

गोसाइँकुण्ड
गोसाइँकुण्ड रसुवा जिल्लामा ४३००–४३८० मिटरको उचाइमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । काठमाडौं वरपरका जिल्लामा रहनेहरुका लागि यो ट्रेक नजिक, कम खर्चिलो र छोटो समयको उपयुक्त ट्रेकिङ हुन सक्छ । गोसाइँकुण्डसहित यस वरपर अन्य १०८ वटा ताहरु रहेका छन्। गोसाइँकुण्ड परिसरको आकार १,०३० हेक्टर रहेको छ । गोसाइँकुण्डलाई शिवकुण्ड मानिन्छ भने १०८ वटा कुण्डमध्ये एउटा पार्वती कुण्ड पनि रहेको छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरुको मनमोहक दृष्यले यसलाई आकर्षक गन्तव्य बनाइसकेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज भित्र रहेको गोसाइँकुण्ड ताललाई सन् २००७ सेप्टेम्बरमा रामसार क्षेत्रमा समावेश गरिएको छ । 

गोसाइँकुण्ड तालसहित १०८ वटा तालहरु, शिवको आकृति जस्तो गेरु रङको चट्टान, त्रिशूल धारा, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, अन्य विभिन्न गुम्बा, विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जडीबुटी र रमणीय वातावरण गोसाइँकुण्ड यात्राका महत्वपूर्ण आकर्षण हुन् ।  गोसाइँकुण्ड रसुवाको धुन्चेबाट पैदलयात्रा गरेर पुग्न सकिन्छ । यता सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्राबाट पनि गोसाइँकुण्ड पुग्न सकिन्छ । धार्मिक हिसाबले भने सुन्दरीजलदेखि गोसाइँकुण्डको पैदलयात्रालाई राम्रो मानिन्छ । 
स्थानः  रसुवा जिल्ला
अवधिः  ५ देखि ७ दिन
उचाईः समुन्द्र सतहबाट ४,३००–४,३८० मिटर, उचाइसम्बन्धी समस्या हुन सक्ने भएकाले सतर्कता अपनाउन आवश्यक
कठिनाइः मध्यम
लागतः काठमाडौंबाट जाँदा कम्तिमा ८–१० हजार

कोरी
छोटो पदयात्राका लागि कोरी पनि एक उपयुक्त स्थान हो । पोखराबाट सिक्लेस हुँदै जान सकिने कोरी समुन्द्र सतहबाट ३,८०० मिटरको उचाइमा पर्छ । अन्नपूर्ण क्षेत्रमा रहेको यो ट्रेकमा लमजुङ, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृष्य नजिकैबाट नियाल्न सकिन्छ । मौसमअनुसार फरक फरक अनुभुति लिन सकिने यो ट्रेकमा दशैंको समयमा भने पहाडभरि रहेका वनस्पतीहरु सुनौलो, सुन्तला रङमा फेरिँदै गएको देख्न सकिन्छ । पहाड विभिन्न रङहरुले ढाकिए झैं लाग्छ । काठमाडौंबाट ७ देखि १० दिनसम्म लाग्ने यो ट्रेकिङको खर्च कम्तिमा १५ हजार लाग्छ । 
स्थानः अन्नपूर्ण क्षेत्र, पोखराबाट उत्तर–पूर्व
उचाईः समुन्द्र सतहबाट ३८०० मिटर
कठिनाईः मध्यम
अवधिः काठमाडौंबाट कम्तिमा ७ देखि १० दिन
खर्चः  कम्तिमा १५–२० हजार

अन्नपूर्ण बेस क्याम्प (एबिसी) ट्रेक
समुन्द्र सतहबाट ४,१३० मिटरको उचाइमा रहेको अन्नपूर्ण बेस क्याम्प टे«क पोखराबाट सुरु हुन्छ । ७ देखि १० दिन समय हुनेहरुका लागि यो ट्रेकिङ उपयुक्त स्थान हो । यहाँबाट ७,२१९ मिटर अग्लो अन्नपूर्ण साउथ र ७,५५५ मिटर उचाइमा रहेको अन्नपूर्ण थर्डको दृष्य नियाल्न सकिन्छ । हिमाल र हिउँ मन पराउनेका लागि समेत यो उपयुक्त गन्तव्य हो । चैत–वैशाख र असोज–कात्तिकको समय  यो टे«किङका लागि उपुक्त समय पनि हो ।
स्थानः अन्नपूर्ण क्षेत्र, गण्डकी प्रदेश
उचाईः समुन्द्र सतहबाट ४,१३० मिटर
कठिनाईः मध्यम
अवधिः ७ देखि १० दिन

सगरमाथा आधार शिविर पदयात्रा
सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सगरमाथा आधार शिविर पदयात्रा (एभरेष्ट बेस क्याम्प) समुन्द्र सतहबाट ५,३४० मिटरको उचाइमा पर्छ । लुक्ला, नाम्चे बजार, टेङ्बोचे, चोला पास, गोरक्षेप र काला पत्थर यो आधार शिविरका प्रमुख स्थलचिन्हहरु हुन् । शेर्पा गाउँहरुसँगको जम्काभेटमा शेर्पाहरुको संस्कार र संस्कृति हेर्दै विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथासहितका हिमालका दृश्यहरुको आनन्द यो यात्रामा लिन सकिन्छ । 
स्थानः सोलुखुम्बु जिल्ला, सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र
उचाईः समुन्द्र सतहबाट ५,३४० मिटर
कठिनाईः उच्च (उचाइका कारण समस्या हुन सक्छ)
अवधिः १२–१४ दिन

यी बाहेक पनि ट्रेकिङ जाने स्थानहरु नेपालमा धेरै छन् । लाङटाङ ट्रेक, मार्दी ट्रेक, मुल्दाई ट्रेक, आमा याङग्री, घोरेपानी पुनहिल, मकालु बेस क्याम्प, कञ्चनजंघा बेस क्याम्प लगायतका पदयात्रा समेत यो समयमा उपयुक्त हुने पदयात्रा हुन् । 

ट्रेकिङ बाहेक घुम्नका लागि उपयुक्त स्थानहरु
इलाम
नेपालको पूर्वी क्षेत्रमा पर्ने इलाम प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । चिया बगानले चिनिने इलाम हरियाली, प्राकृतिक सौन्दर्य, हिमाल, पहाड र तराईको मिश्रण र सांस्कृतिक विविधता पर्यटकका लागि मुख्य आकर्षण हुन् । 

इलामका घुम्न लायक स्थानहरुमा इलाम चिया बगान, माई पोखरी, सन्दकपुर, अन्तु डाँडा, फाकफोकथुम, श्रीअन्तु गाउँ, पशुपतिनगर, फिकल, कन्याम रहेका छन् । इलाम बजारबाट २० किलोमिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडाबाट सूर्योदय र सूर्यास्त तथा हिमशृंखला तराईका फाँट लगायतको दृश्यावलोकन गर्न समेत सकिन्छ । त्यसैगरी ढापपोखरी, माङसेबुङ, गजुरमुखी लगायतका स्थान समेत यहाँको प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

पोखरा
नेपालकै सबैभन्दा प्रसिद्ध पर्यटक नगरीको रुपमा परिचित पर्यटकीय गन्तव्य हो, पोखरा । यसलाई लेक सिटी र हिमालको प्रवेशद्वार भनेर पनि चिनिन्छ । अन्नपूर्ण र माछापुछ्रे हिमालको सुन्दर दृश्य, शान्त तालहरु, धार्मिक स्थलहरु, साहसिक खेलहरुले पोखरालाई घुमघामको पूर्ण प्याकेज बनाएको छ । 

यहाँ बजेट अनुसार सस्तो होटलदेखि पाँच तारे होटलसम्मको सुविधा लिन सकिन्छ । फेवाताल, बगेनार र रुपा तालले शान्त वातावरणले आनन्द बनाउने मनमा गुप्तेश्वर र मेहन्द्र गुफाको मिठो अनुभव समेट्न सकिन्छ । देवी झरना अर्थात डेभिस फलको दश्य आँखाबाट कहिल्यै हट्ने छैनन् । 

प्यारेगलाइडिङ, बन्जी जम्प, जिप लाइन, राफ्टिङ, साइक्लिङ लगायतका साहसिक खेलहरुको अनुभव समेत एउटै नगर पोखराबाट लिन सकिन्छ । तालबाराही मन्दिर, विन्ध्यवासिनी मन्दिर, विश्व शान्ति स्तूप लगायतका धार्मिक तथा एतिहासिक क्षेत्रको अवलोकनले मनमा अर्कै शान्ति छाउने छ । 

मुक्तिनाथ
मुक्तिनाथ नेपालकै एक प्रमुख धार्मिक तथा पर्यटकिय गन्तव्यस्थल हो । मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ समुन्द्र सतहबाट ३,७१० मिटरको उचाइमा अवस्थित छ । यसलाई मोक्ष पाउने धाम पनि मानिन्छ । दशैंमा घुम्न जानका लागि यो पनि एक उपयुक्त धार्मिक र पर्यटकीय स्थल हो । हिन्दू धर्मअनुसार मुक्तिनाथलाई विष्णु भगवानको मन्दिर मानिन्छ ।

साथै मुक्ति पाउने विश्वासका साथै यहाँका १०८ वटा धारमा नुहाएमा पापमोचन हुने विश्वास समेत गरिन्छ । यता बौद्ध धर्म अनुसार भने मुक्तिनाथलाई तान्त्रिक स्थलसँग सम्बन्धित स्थानका रुपमा मानिन्छ । धवलागिरी, निलगिरी र अन्नपूर्ण हिमालकाृ नजिकको सुन्दर भूदृश्य नियाल्न सकिने यस क्षेत्रमा शालिग्राप समेत पाइन्छ । थकाली खाना र अन्तराष्ट्रिय खानाको समेत स्वाद पाउन सकिने मुक्तिनाथ यात्रा वसन्त र शरद ऋतुमा उपयुक्त मानिन्छ ।

पाथिभरा
नेपालको पूर्वी पहाड, ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरादेवीको मन्दिर पनि नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य मानिन्छ । समुन्द्र सतहदेखि ३,७९४ मिटर उचाइमा रहेको यो मन्दिरलाई शक्तिपीठको रुपमा समेत चिनिन्छ । परापूर्वकालमा गाई चराउने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवीथान शक्ति उपासकहरुका लागि विशेष ठाउँ हो । पाथिभरा देवीस्थान नजिकै २०७७ सालमा कीराँत मन्दिर बनाइएको छ जसको प्राङ्गणमा गुरु फाल्गुनन्दको शालिक राखिएको छ । त्यसैले पाथिभरा क्षेत्र लिम्बु जातिको पनि सामुदायिक आराध्य स्थल हो । पाथिभरादेवीको दर्शन गर्नका लागि ताप्लेजुङको फुङलिङ बजारबाट एक दिन पैदल हिँड्नुपर्ने भएकाले यसलाई पनि पदयात्राको रुपमा समेत लिन सकिन्छ । 

बाटोभर देखिने हरियाली वन, लालीगुराँसका बोट, मौसम अनुसार फुलेका फुल चराचुरुङ्गीले यात्रालाई रोमाञ्चक बनाउँछ भने मन्दिरबाट देखिने कञ्चनजंघा हिमाल शृङ्खला र पूर्वी हिमालयका शिखरहरुले मनमा छुट्टै आनन्द प्रदान गर्छ । तीर्थयात्रीहरु यहाँ आफ्ना मनोकामना पूरा गर्न जान्छन् भने पर्यटकहरु प्राकृतिक दृश्यको अवलोकन गर्न पुग्ने गर्छन् । धार्मिक र प्राकृतिक दुवै हिसाबले उपयुक्त गन्तव्य पाथिभरामा जानका लागि दशैं र तिहारको समय मौसमका हिसाबले पनि उत्तिकै उपयुक्त हुन्छ । 

यी बाहेक पनि नेपालमा धेरै घुम्न उपयुक्त ठाउँहरु छन् । काठमाडौं बाहिर बस्ने मानिसहरुका लागि काठमाडौंमा रहेका पशुपतिनाथ, बौद्ध, स्वयम्भूनाथ, नारायणहिटी संग्राहलय, वसन्तपुर, पाटन दरबारस्क्वायर लगायतका धार्मिक तथा ऐतिहासिक स्थलहरु छन्। चन्द्रागिरि, नगरकोट, गोदावरीलगायतका प्राकृतिक स्थलहरु छन् । त्यसैगरी काठमाडौं बाहिर जनकपुरधाम, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, मुस्ताङ, रारा ताल, मनकामना, गोरदा दरबार लगायत आफ्नो समय र बजेट अनुसारको नजिक वा टाढाको दूरी अनुसार उपयुक्त स्थान घुम्नका लागि छनौट गर्न सकिन्छ ।


Facebook Comments