दशैँमा वर्षेनी हवाई यात्रा कष्टकर : किन महँगो हुन्छ टिकट?

User Image मेयरसाप डेस्क | ५ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68dbf01a92dbc.jpg

काठमाडौं । बडादशैँको समयमा हवाई टिकट पाउनु र सहुलियत दरमा किन्नु यात्रुका लागि निकै कठिन बनेको छ । धेरैजसो गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको र महँगो भाडादर तिर्दा पनि टिकट पाउन मुस्किल भएको यात्रुहरूको गुनासो छ ।

काठमाडौँ–धनगढीको भाडा रु १७ हजारभन्दा बढी पुगेको छ भने काठमाडौँ–विराटनगरको भाडा रु नौ हजार ७०० सम्म रहेको छ । महँगो भाडाका कारण धेरै यात्रु गाडीबाटै यात्रा गर्न बाध्य भएका छन् ।

क्यानको स्पष्टीकरण
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई भाडादर सस्तो बनाउन वायुसेवा कम्पनीहरूलाई बारम्बार निर्देशन दिए पनि समस्या दोहोरिइरहेको छ ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दशैँमा यात्रुको चाप अत्यधिक (दैनिक १० हजार यात्रु) बढ्छ, तर जहाजको सिट क्षमता (कुल ३० वटा सुगम गन्तव्यमा) निश्चित छ । दुई महिनाको चापका लागि मात्र जहाज थप्न सम्भव नहुँदा माग र आपूर्तिको असन्तुलन हुन्छ ।

सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम र अधिकतम भाडादर तोक्ने गर्दछ। एटीआर जस्ता १९ सिटभन्दा माथिका जहाजमा एयरलाइन्सले यो सीमाभित्र रहेर टिकट बेच्न पाउँछन् ।

दक्षिण एसियाकै महँगो हवाई इन्धन, रुस–युक्रेन युद्धले महँगो भएका जहाजका पार्टपुर्जा, र काठमाडौँबाट एकतर्फी खाली सिटमा जहाज चलाउनुपर्ने बाध्यताले भाडा महँगो भएको एयरलाइन्सहरूको भनाइ छ ।

क्यानका अनुसार एयरलाइन्सलाई कम मूल्यमा टिकट बेच्न लगाउन कानुनी रूपमा नसकिने र समस्या समाधानका लागि एकल भाडादर, इन्धनमा सहुलियत वा करमा छुट दिनुपर्ने आवश्यकता छ ।

एयरलाइन्सको दाबी
वायुसेवा सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले तोकिएको उच्चतम भाडादरभन्दा बढी शुल्क नलिएको दाबी गरेका छन् । काठमाडौँबाट बाहिर जाने यात्रुको अत्यधिक चाप भए पनि फर्किने यात्रु नहुँदा सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार घटस्थापनादेखि विजयादशमीसम्म आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा चाप बढेको छ । दैनिक ३५० हाराहारीमा हुने उडान बढेर ४५० भन्दा बढी भइरहेका छन् ।


Facebook Comments