पुनर्निर्माणका लागि विदेशमा रहेका नेपालीलाई सहयोगको अपिल


काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक पूर्वाधारहरूको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ’पुनर्निर्माण कोष’ मा सहयोग गर्न विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले अपिल गरेका छन् ।
आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, अदालत लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोडबाट ठूलो क्षति पुगेको थियो । क्षतिपूर्तिका लागि सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरी कोष खडा गरेको थियो ।
कतार, कुवेत, इजरायल लगायतका देशमा रहेका नेपाली नियोगहरूले सूचना जारी गर्दै ’राष्ट्रिय पुनर्निर्माणको महान अभियानमा सहभागी’ हुन त्यहाँका नेपाली तथा गैरआवासीय नेपालीलाई अनुरोध गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पनि मातृभूमिको दायित्व सम्झँदै ’एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत कोषमा सहयोग गर्न र प्रशासनिक सेवा पुनस्र्थापनाका लागि योगदान गर्न विश्वभरका आफ्ना समुदायलाई आह्वान गरेको छ ।
अर्थ मन्त्रालयको अनुरोधपछि विदेशमा रहेका नेपाली नियोगहरूले यो अभियानलाई तीव्रता दिएका हुन् ।
Facebook Comments