साथी र शुभचिन्तकले सबै खर्च व्यहोरिदिन्छन् : मन्त्री पुन


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत जीवनको आर्थिक पाटोबारे उठिरहेका प्रश्नहरूको सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएका छन् । तलब भत्ता नलिने निर्णयको कारणबारे बताउँदै उनले आवश्यक पर्दा साथी र शुभचिन्तकहरूले पहिलेदेखि नै सबै खर्च व्यहोरिदिने गरेको बताए ।
पुनले बिहीबार फेसबुकमा लेखेका छ, “अहिलेसम्म मलाई र श्रीमती पाल्ने, छोरीहरूलाई पाल्ने, पढाइ दिने काम आवश्यक पर्नासाथ मेरा साथी सहयोगीहरूले गर्छन्। मन्त्री भए पनि सबै खर्च पहिलेदेखि नै केही शुभचिन्तक साथीहरूले पु¥याई दिन्छन्। मलाई ढुक्क छ ।”
३२ वर्षअघि अमेरिकाबाट फर्किएर पनि ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट विस्तार गर्न सफल भएको उनले उल्लेख गरे । पछिल्लो ७ वर्षदेखि आविष्कार केन्द्र सञ्चालनमा ल्याएर युवाहरूलाई अवसर दिएको र कोरोना महामारीमा निःशुल्क औषधि वितरण गरेको पुनको भनाइ छ ।
उनले ’३० वर्षदेखि बन्द भएको वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न अहिलेसम्म करोडौं करोड रुपैयाँ आम जनताले किन दान गरे’ भन्ने प्रश्नमा जनताले आफूलाई विश्वास गर्नुको कारण बुझ्न आग्रह गरे ।
मन्त्री पुनले यात्राको हवाई जहाजको टिकट, बस वा ट्याक्सी भाडा समेत आफैँले तिर्दै आएको बताउँदै थप जानकारीका लागि आफ्नो आत्मकथा पुस्तक पढ्न सुझाव दिए ।
Facebook Comments