बीपी राजमार्गमा रात्रिकालीन सवारी आवतजावतमा रोक

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68de81df1dc46.jpg

काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला विपद् व्यवस्थापन समितिले भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाएको छ ।

आज (असोज १६) देखि असोज २१ गते रातिसम्म लागू हुने गरी साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश ढकालले उक्त निर्णय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान अनुसार गरिएको बताए ।

राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि सिन्धूलीको सीमा नेपालथोक सम्मको सडकखण्डमा सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

मनसुनजन्य विपद्को जोखिमका कारण यसअघि पनि जिल्ला सुरक्षा समितिको समन्वयमा असार ७ गतेदेखि नै राति सवारी सञ्चालनमा रोक लगाइएको थियो। 

गत वर्षको बाढी–पहिरोले बीपी राजमार्गको ८४ किलोमिटर सडकखण्डको विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको थियो । समितिले जोखिम न्यूनीकरणका लागि यो निर्णय लिइएकाले सबैलाई सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।


Facebook Comments