मुस्ताङमा पुल अलपत्र हुँदा सिनो हाइड्रोका १८ ट्रली भन्सारमै थन्किए


मुस्ताङ । जोमसोम–कोरला सडकअन्तर्गत लोघेकर दामोदरकुण्ड–२, घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात गरिएका उपकरण बोकेका सिनो हाइड्रो पावर कम्पनीका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन् ।
भन्सार जाँचपास भइसकेका यी ’हेभी’ ट्रलीहरूको भार अस्थायी पुलले थेग्न नसक्ने भएपछि मङ्गलबारदेखि रोकिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । दशैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गर्ने तयारी रहेको उनले बताए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले कोरलानाका सञ्चालनमा आए पनि घमी खोलाको पुल अलपत्र हुँदा समस्या आएको बताए । घमी खोलामा सात वर्षदेखि निर्माणाधीन पुल सम्पन्न भएको छैन ।
२०७५ सालमा रु ६ करोड ८० लाख लागतमा ठेक्का लागेको ४० मिटर लामो उक्त पुलको हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आयोजनाले निर्माण कम्पनीलाई दैनिक हर्जना लगाए पनि काम अघि बढ्न सकेको छैन ।
Facebook Comments