आन्तरिक हवाई भाडादर सार्वजनिक, काठमाडौं–धनगढी साढे १७ हजार


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार आन्तरिक हवाई उडानका लागि नयाँ अधिकतम भाडादर सार्वजनिक गरेको छ ।
यात्रुहरूलाई बढी शुल्क लिने क्रम नियन्त्रण गर्नका लागि यो भाडादर तोकिएको हो, जसभन्दा बढी मूल्य नलिन प्राधिकरणले वायुसेवा कम्पनी र टिकट बिक्रेताहरूलाई अनुरोध गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको परिवर्तित भाडादर अनुसार काठमाडौं–धनगढीको अधिकतम भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ, जुन सबैभन्दा महँगो रुट हो ।
काठमाडौं–नेपालगञ्जको भाडा १३ हजार १०३ रुपैयाँ र काठमाडौं–भद्रपुरको १२ हजार ११२ रुपैयाँ कायम भएको छ ।
छोटो दूरीका लागि, काठमाडौं–भरतपुरको ४ हजार ६४३ रुपैयाँ र काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ अधिकतम भाडा तोकिएको छ ।
अन्य प्रमुख गन्तव्यहरूमा काठमाडौं–विराटनगरको ९ हजार ७८५, काठमाडौं–पोखराको ६ हजार ६३५, काठमाडौं–भैरहवाको ८ हजार ४६१ तोकिएको छ ।
काठमाडौं–राजविराजको ८ हजार २१०, काठमाडौं–सुर्खेतको ९ हजार ३० र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ अधिकतम भाडादर निर्धारण गरिएको छ ।
Facebook Comments