काठमाडौंमा डुबानको जोखिम : खोला छेउछाउका बस्ती स्थानान्तरण गरिँदै


काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर वर्षाका कारण खोलाहरूमा पानीको बहाव बढ्दै गएपछि र डुबानको सम्भावना देखिएपछि काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापनका लागि तयारी बढाएको छ ।
महानगरको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद्को समयमा आश्रयस्थलका रूपमा प्रयोग गर्न तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
बागमती, विष्णुमती लगायतका खोला छेउछाउका जोखिमयुक्त बस्तीका बासिन्दालाई नजिकका थली, बनेश्वर, कोटेश्वर र दोभान क्षेत्रका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ ।
विद्यालयहरूलाई विपद्को अवस्थामा आश्रय लिन आउने बासिन्दाका लागि शौचालय, खानेपानी र सुरक्षित ओत सहितका आधारभूत सुविधाहरू तयार राख्न निर्देशन दिइएको छ ।
महानगरपालिकाले जोखिमयुक्त क्षेत्रमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको जनाएको छ । सम्पूर्ण उद्धार तथा व्यवस्थापन कार्य महानगरपालिकाको समन्वयमा सञ्चालन हुनेछ ।
Facebook Comments