नागढुङ्गाबाट साँझ ५ बजेभित्र मात्र गाडीलाई जान दिइने

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e0a5efc4f37.jpg

काठमाडौं । बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ ।

बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, “बाढीपहिराको सम्भावित जोखिम अझै देखिएकाले नागढुङ्गामा ५ः०० बजेभित्र पुगेका रात्रिकालीन बसलाई मात्र बाहिरिने अनुमति दिइनेछ । सोहीअनुसार हामीले सम्बन्धित बस व्यवसायीका संस्थामा जानकारीसमेत दिएका छौँ ।”

यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ । 

आज बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुङ्गाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।


Facebook Comments