प्रतिनिधिसभा विघटनविरुद्ध अदालत जाने एमालेको तयारी


काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गर्दै नेकपा एमाले सर्वोच्च अदालत जाने विषयमा आन्तरिक छलफलमा जुटेको छ ।
एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यस विरुद्ध अदालत जानु स्वाभाविक र आवश्यक रहेको बताए ।
उनले यस विषयमा एमाले र कांग्रेस एकताबद्ध भएर जाने तयारी भइरहेको जानकारी दिए । यद्यपि, अदालत जाने मोडेल र मिति भने टुंगिन बाँकी छ ।
यसअघि असोज १२ गते बसेको सचिवालय बैठकमा समेत यो विषयमा छलफल भएको थियो ।
उपमहासचिव प्रदीप ज्ञवालीले विगतका फैसलाहरू हेर्दा विघटन संविधानसम्मत नदेखिएको र यसको संवैधानिकताको परीक्षण न्यायिक रूपमा हुनुपर्ने धारणा राखेका थिए ।
ज्ञवालीका अनुसार विघटित प्रतिनिधिसभामा ८० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने आठ वटा राजनीतिक दलले विघटनको संवैधानिकतामाथि प्रश्न खडा गरेका छन्, जसका कारण पनि यो विषय अदालत पुग्नुपर्ने उनको तर्क छ ।
Facebook Comments