ओली र लेखकलाई पक्राउ गर्न प्रहरीले माग्यो लिखित निर्देशन

User Image मेयरसाप डेस्क | २ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e4dd088085d.jpg

काठमाडौं । जेन–जी युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै दबाब बढाएपछि प्रधानमन्त्री सुशीला कार्कीले सबै सुरक्षा अंगका प्रमुखहरूसँग लामो छलफल गरेकी छन् ।

सोमबार रातिदेखि मङ्गलबार बिहान २ बजेसम्म बालुवाटारमा चलेको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, गृहसचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत सहभागी थिए ।

जेन–जी युवाहरूले सोमबार काठमाडौं प्रहरी परिसरमा ओली र लेखकविरुद्ध जाहेरी दर्ता गराउन खोजे पनि प्रहरीले अस्वीकार गरेको थियो । त्यसपछि प्रहरी महानिरीक्षक खापुङ गृहमन्त्री कहाँ पुगेका हुन् ।

प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलमा प्रहरी महानिरीक्षक खापुङले ओली र लेखकविरुद्ध उजुरी दर्ता गर्न केन्द्रीय सुरक्षा समितिबाट लिखित निर्देशन आएमा मात्र अघि बढ्न तयार रहेको आशय व्यक्त गरेको स्रोतले बतायो ।

सुरक्षा अधिकारीहरूले न्यायिक छानबिन भइरहेका बेला उजुरी लिने र पक्राउ गर्ने कार्यले मुठभेड हुनसक्ने भन्दै सुरक्षा चुनौतीको विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।


Facebook Comments