थलारा गाउँपालिकाको कार्यालयमा जेन-जी युवाद्वारा तोडफोडसहित तालाबन्दी

User Image डीबी विष्ट | एक घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e523b42516d.jpeg

बझाङ । सडक निकासको माग राख्दै बझाङको थलारा गाउँपालिका–६, सडिलका जेनजी युवाहरूले गाउँपालिकाको कार्यालयमा तोडफोड गरी तालाबन्दी गरेका छन् ।

आज (मङ्गलबार) दिउँसो गाउँपालिका कार्यालय पुगेका युवाहरूको समूहले कार्यालयका कर्मचारीलाई बाहिर निकाल्दै तोडफोडसहित तालाबन्दी गरेका हुन् । त्यसअघि उनीहरूले वडा नम्बर ६ को कार्यालयमा समेत तालाबन्दी गरेका थिए ।

युवाहरूले झनाना–सडिल–तराटी–ठिङाललेख सडक निकासको माग राख्दै यो कदम चालेका हुन् । उक्त सडक ठिङाललेखबाट कटिङ सुरु भई पिखेत गाउँको मुङरा धारासम्म र झनाना हुँदै पिखेत गाउँसम्म पुगेको छ । तर, गाउँमा सहमति नजुट्दा करिब १५० मिटर सडक जोडिन बाँकी रहेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती र प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्यालगायत सरोकारवालाहरूले पहल गर्दा पनि सहमति नजुट्दा आर्थिक वर्ष २०८१\८२ मा विनियोजन भएको १० लाख रुपैयाँको बजेट फ्रिज गएको थियो ।

गाउँपालिका कार्यालयमा ताला लगाउने सूचना पाएपछि ईलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको थियो । यद्यपि, कम संख्यामा सुरक्षाकर्मी भएकाले टोलीले स्थितिलाई नियन्त्रणमा लिन नसकेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाध्याले कार्यालयमा भएको क्षतिको यकिन विवरण अहिले नै भन्न नसकिने बताए । 

यस्तै, सडिलका युवा देबी कडायतले आफ्नो माग जहाँबाट भएपनि सडिल गाउँ सडक सञ्जालसँग जोडिनुपर्ने बताए । यहाँका युवाहरूले माग पूरा नहुन्जेलसम्म ताला नखोल्ने अडान लिएका छन् ।


Facebook Comments