तिहारका लागि मादल बनाउन व्यस्त छन् चित्रे बादी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e5c7485ad6f.png

दाङ । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् ।

घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको छ । उनका अनुसार अरु समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनी बताउँछन् ।  

आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले बताए। “बुवा गुइठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”, ७० वर्षे बादीले भने । उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घरखर्च चलाएको पनि उनले उल्लेख गरे। 

तिहारमा देउसी भैलो खेल्नेहरु हरेक वर्ष जसो उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार रु सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए । 

उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र  रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् । 

उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्छिन् । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाए। आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताए । उनको परिवारमा कान्छो छोराले पनि मादल बनाउन सिकेको उनको भनाइ छ ।

उनी मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्छन । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।


Facebook Comments