आँबुखैरेनी गाउँपालिकाद्वारा छिम्केश्वरी मन्दिरको सौन्दर्यकरण

बूढीमाईको मन्दिर पनि पुनर्निर्माण गर्ने लक्ष्य

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e5da1052cc0.jpg

तनहुँ । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी माई मन्दिरको सौन्दर्यकरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा रहेको छिम्केश्वरी माईलाई धार्मिक पर्यटकीय स्थल बनाउन पालिकाले यसको सौन्दर्यकरण गरिएको हो । छिम्केश्वरी समुन्द्र उचाइबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छ । 

मन्दिरको पुनर्निर्माण अभियानअन्तर्गत दर्शनका लागि भक्तजन तथा पर्यटकको विश्रामका लागि नेपाली कला संस्कृति झल्किने पौवा पाटी (फाल्चा) निर्माण गरिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । 

त्यस्तै मन्दिरभित्र पित्तलको चदुँवा तथा पाताहरु लगाउने, बाहिर पेटी तथा सिँढीहरुमा तेरिया इट्टा लगाउने, आँगन परिसरमा ढुङ्गाहरु छाप्ने काम गरिएको उनले बताए । उनले भने, “मन्दिरलाई आकर्षक बनाएर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित काम गरिएको छ ।”

गाउँपालिकाले छिम्केश्वरी माई मन्दिर नजिकै रहेको बूढीमाईको मन्दिर पनि पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । सात देवीमध्ये जेठी बुढीमाईको मन्दिर काठैकाठले पुनर्निर्माण गर्ने लक्ष्य राखिएको छ ।

गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरी, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ«ेलगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि यस ठाउँलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। 

छिम्केश्वरीमा हाल वार्षिक करिब एक लाख पर्यटक आउने गरेका छन् । विशेषगरी यहाँ फागुपूर्णिमा, वैशाख १ गतेलगायतका बेला यहाँ पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । त्यसका अलवा दैनिक रुपमा पनि यहाँ पर्यटकको आगमन बढिरहेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्णमान तामाङले बताए । 

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा रु ४१ लाख ६३ हजार सात सय ६ को लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आव २०७६/७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।


Facebook Comments