म्याग्दीको तुसारेपानीमा जीप दुर्घटना हुँदा १४ जना घाइते


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ घतान तुसारेपानीमा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा १४ जना घाइते भएका छन् । जिल्लाको रघुगङ्गा गाउँपालिका–८ कुइने खानीबाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको बोलेरो जीप दुर्घटनामा परेर घाइते भएकाहरूको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको छ ।
घाइतेमध्ये कुइनेखानीका पूर्ण छन्त्याल, रीता छन्त्याल, नन्दा छन्त्याल र बिना छन्त्याललाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको अस्पतालले जनाएको छ । ओरालो बाटोमा ब्रेक फेल भएर जीप दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र जीपका चालक चन्द्र पुर्जालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।
जीप सडकबाट करिब ११० मिटर तल बाँझो बारीमा खसेको थियो । दुर्घटनामा परेकाहरूको स्थानीयवासी, जनप्रतिनिधि र नगर प्रहरी र सुरक्षाकर्मीहरूले उद्धार गरी बेनी अस्पतालमा उपचारका लागि पुर्याइएका थिए ।
Facebook Comments