महोत्तरीमा बाढीको पानीमा डुबेर ११ वर्षीय बालकको मृ*त्यु

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Dubera-mirtu.jpg

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं ६ धबौली गाउँमा आज बाढीको पानीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा जलेश्वर–६ धबौली बस्ने नसरुद्दिन साफीका छोरा ११ वर्षीय सलमान साफी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
 
आज दिउँसो साथीसँग जलेश्वर–६ मै अवस्थित परिक्रमा गाछी नजिकै रहेको लच्कामा आएको बाढीको पानीमा पौडी खेल्न गएका बालक साफीलाई तीव्र गतिमा बगिरहेको पानीले बगाएपछि उनी बेपत्ता भएका थिए ।
 
करिब दिउँसो २ बजे बेपत्ता भएका बालक साफीकाबारेमा सँगै गएका साथीहरूले गाउँटोलमा जानकारी गराएपछि घरपरिवार, टोलछिमेकी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलासपछि उनको शव लच्काभन्दा १०० मिटर दक्षिणमा पानीमै डुबेको अवस्थामा फेला परेको थियो ।
 
डुबेर मृत्यु भएको बालक साफीको शव अबेर साँझ परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमा लगिएको छ । जलेश्वरमा गत शनिबार र आइतबार परेको अविरल वर्षापश्चात् रातो नदीको तटबन्ध भत्किएर ठूलो बाढी आएको थियो । 


Facebook Comments