पाठ्यक्रममा नैतिक शिक्षा अनिवार्य गर्न शिक्षामन्त्रीकाे निर्देशन
मेयरसाप डेस्क
|
२०८२ असोज २३ गते १३:४७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले बुधबार पाठ्यक्रम विकास केन्द्र, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र शिक्षा तथा मानव श्रोत विकास केन्द्रको अवलोकन भ्रमणपछि तीनवटै निकायलाई विभिन्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले पाठ्यक्रम विकास केन्द्रलाई पाठ्यक्रमको समसामयिक परिमार्जन र अद्यावधिक समयमै गर्न विशेष जोड दिएका छन् । उनले पाठ्यपुस्तकमा नैतिक शिक्षा, व्यावहारिक शिक्षा, इतिहास र संविधानसम्बन्धी ज्ञान लाई उच्च प्राथमिकता दिन तथा मातृभाषाका पाठ्यपुस्तक विकासमा सहयोग पुर्याउन निर्देशन दिए ।
यस्तै, आगामी वर्षदेखि कक्षा ९ र १० मा १०० पूर्णाङ्कको कम्प्युटर विषय अनिवार्य गर्ने गरी पाठ्यक्रम विकास गर्न पनि मन्त्री पुनले केन्द्रलाई निर्देशन दिए ।
यता, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको बजेट विनियोजनप्रति मन्त्री पुनले असन्तुष्टि व्यक्त गरे । उनले ३७ करोडको बजेटमध्ये २७ करोड रुपैयाँ प्रशासनिक खर्चमा र १० करोड रुपैयाँ मात्र अनुसन्धान मा छुट्याइएको भन्दै प्रश्न उठाए ।
भवन र ल्याबहरू उच्च कोटिका भए पनि काम त्यहीअनुसारको नभएकोमा जोड दिँदै उनले नास्टलाई उच्च कोटिको अनुसन्धान केन्द्र कसरी बनाउने भन्नेबारे यसै हप्ताभित्र सुझाव दिन कर्मचारीहरूलाई निर्देशन दिए ।
त्यसैगरी, शिक्षा तथा मानव श्रोत विकास केन्द्रलाई पनि मन्त्री पुनले शिक्षकको दरबन्दी मिलान गर्न र विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयहरू मर्ज गर्ने कार्यविधि बनाउन निर्देशन दिएका छन् ।
देशैभरि लागु हुने गरी योग्य र सक्षम प्रधानाध्यापक नियुक्तिको कार्यविधि बनाउने र अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्री निर्माण मा जोड दिन कार्यक्रम बनाउने जस्ता महत्त्वपूर्ण विषयमा काम गर्न उनले केन्द्रलाई भनेका छन् ।
Facebook Comments