फिलिपिन्समा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी


एजेन्सी । फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।
फिलिपिन्सका साथै भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटर टाढा रहेका इन्डोनेसिया (उत्तरी सुलावेसी र पपुवा) र पलाउ क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको छ ।
प्यासिफिक सुनामी चेतावनी केन्द्रका अनुसार फिलिपिन्सका केही तटहरूमा छालहरू सामान्यभन्दा ३ मिटरसम्म (१० फिट) माथि पुग्न सक्ने चेतावनी दिइएको छ । पहिलो छाल स्थानीय समयअनुसार बिहान ११ः४३ अघि नै आइपुग्ने र घण्टौँसम्म रहने अनुमान छ ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थाले तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल उच्च स्थानमा वा भित्री भागतिर जान र डुङ्गाहरूलाई गहिरो पानीमा नै रहन आग्रह गरेको छ ।
दक्षिणी फिलिपिन्सको डाभाओ ओरिएन्टल प्रान्तका गभर्नर एडविन जुबाहिबले भूकम्प ‘धेरै शक्तिशाली’ रहेको र केही भवनहरूमा क्षति पुगेको जानकारी दिएका छन् ।
यस हप्ताको भूकम्पले फिलिपिन्समा प्राकृतिक प्रकोपको शृङ्खलालाई निरन्तरता दिएको छ । गत हप्ता ७.० म्याग्निच्युडको भूकम्पले ७४ जनाको मृत्यु भएको थियो भने हालै आएको तीव्र आँधी बुआलोइ का कारण पनि ११ जनाको मृत्यु भएको थियो ।
Facebook Comments