तानाशाहीविरुद्ध संघर्ष गर्ने मारियाले जितिन् नोबेल शान्ति पुरस्कार

User Image मेयरसाप डेस्क | २ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68e8d41e12a59.jpg

काठमाडौं । भेनेजुएलामा लोकतान्त्रिक अधिकारको प्रवद्र्धन र तानाशाहीबाट लोकतन्त्रमा शान्तिपूर्ण सङ्क्रमणका लागि निरन्तर संघर्षरत विपक्षी नेतृ मारिया कोरीना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार समितिले शुक्रवार यो घोषणा गर्दै माचाडोलाई ‘बढ्दो अन्धकारको बीचमा प्रजातन्त्रको ज्वाला बलिरहेको शान्तिको साहसी र प्रतिबद्ध समर्थक’ भन्दै प्रशंसा गरेको छ ।

माचाडोले लोकतन्त्रको सुधारका लागि ‘सुमाते’ नामक संस्था स्थापना गरी देशमा स्वतन्त्र र निष्पक्ष चुनावको माग गर्दै आएकी छिन् । भेनेजुएलामा अधिनायकवादी शासनका कारण राजनीतिक गतिविधि कठिन भएको र माचाडो यतिबेला लुकेर बसिरहेको समितिले बताएको छ ।

‘आइरन लेडी’ को रूपमा पनि चिनिने माचाडोलाई टाइम पत्रिकाको २०२५ का १०० प्रभावशाली व्यक्तिको सूचीमा पनि राखिएको थियो । विजेताले १ करोड १० लाख स्विडिस क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछिन् । पुरस्कारहरू डिसेम्बर १० मा ओस्लोमा प्रदान गरिनेछ ।

यसअघि उक्त पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाउने चर्चा थियो । तर राष्ट्रपति ट्रम्पलाई भने नोबेल समितिले पुरस्कारका लागि छनोट गरेन ।


Facebook Comments