प्रचण्डको सचिवालय भन्छ- दुई ट्रकमा २ करोड रुपैयाँ लगिएको प्रचार झूटो हाे


काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’को सचिवालयले जेन–जी आन्दोलन सुरु हुनुअघि प्रचण्ड निवासबाट ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्ने प्रचारको कडा खण्डन गरेको छ ।
प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले प्रेस नोट जारी गर्दै यो आरोप पूर्ण रूपमा निराधार रहेको दाबी गरेका छन् ।
सचिवालयले जेन–जी आन्दोलनपूर्व रकम लगिएको, प्रचण्डको सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको र गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबी सत्यता प्रमाणित गर्न चुनौती दिए ।
प्रचण्डको सचिवालयले पूर्वएआईजी देवेन्द्र सुवेदी लगायतबाट भ्रामक प्रचार गरिएको भन्दै साइबर कानुनविपरीत यस्ता गलत प्रचारप्रसार गर्नेहरूलाई अनुसन्धान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
जेन–जी प्रदर्शनको दोस्रो दिन (भदौ २४) मा प्रचण्ड र उनकी छोरीहरूको घरमा आगजनी भएको थियो । यसैबीच सरकारले सुरक्षा कार्यविधि उल्लंघन गरी भीआईपीहरूले प्रयोग गरेका सुरक्षाकर्मीको संख्या कटौती गरेको छ ।
Facebook Comments