टाशी ल्हाजोम ‘तिब्बती एजेन्ट’ होइनन्, हिमालकी छोरी हुन् !

आदिवासी पहिचानमाथि अपमान

User Image कृष्णबहादुर तामाङ | ४ दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68eb58411867a.jpg
तस्बिर : राहुलकुमार ढकाल

हुम्लाकी युवा आदिवासी जलवायु अभियन्ता टाशी ल्हाजोमलाई प्रमाणबिना तिब्बती एजेन्ट ठहर गर्नु उनको व्यक्तिगत अपमान मात्र होइन, नेपालको सम्पूर्ण आदिवासी पहिचानमाथिको गम्भीर अपमान हो । लोकतन्त्रमा नागरिकताको मूल्य प्रमाणमा आधारित हुन्छ, पूर्वाग्रहमा होइन ।

टाशी ल्हाजोम कुनै समाचार शीर्षकको नाम होइन । उनी नेपालका हिमालकी सन्तान हुन् । हुम्लाको नाम्खा गाउँपालिका–लिमी हाल्जी गाउँमा जन्मिएकी उनी साहु कुतु तामाङकी नातिनी हुन्, जसको परिवारसँग सयौँ याक र हजारौँ भेडा थिए । उनीहरूको जरा नेपालको ट्रान्स–हिमालय क्षेत्रको माटोसँग शताब्दीयौँ पुरानो सम्बन्धमा गाडिएको छ ।

उनका बुबा आज पनि त्यही पुख्र्यौली घरमै बसोबास गर्छन्, त्यही जमिनमा खेती गर्छन् । टाशीले दिल्ली विश्वविद्यालयबाट राजनीतिक विज्ञानमा अध्ययन गरिन् र त्यसपछि आफ्नो जीवनलाई हिमाली संस्कृति र जलवायु संकटको संरक्षणमा समर्पित गरिन् ।

उनको डकुमेन्ट्री फिल्म— ‘नो मोनास्ट्री, नो भिलेज’— ले FAO र अन्य अन्तर्राष्ट्रिय संस्थाबाट प्रशंसा पाएको छ । उनी अमेरिकी दूतावासको युवा परिषद् सदस्य पनि रहिन् । जुन नेतृत्व–मञ्च हो, कुनै राजनीतिक संगठन होइन । टाशी वास्तवमा त्यो समुदायको प्रतिनिधित्व गर्छिन्, जसमा नेपालले गर्वका साथ आफूलाई चिन्ने अधिकार राख्छ । शिक्षित, स्पष्टभाषी र विश्व–सचेत हिमालकी छोरी, जसले आफ्ना समुदायको आवाज मात्र होइन, पहिचानको प्रतिष्ठा पनि बनेकी छिन् ।

सामाजिक सञ्जालको अदालत
अनलाइन आरोपबाट सुरु भएको कुरा केही घण्टामै डिजिटल “विच हन्ट” (सिकार अभियान) मा बदलियो । एउटा राजनीतिक व्यक्तिले उनलाई सार्वजनिक रूपमा “तिब्बती” भने । केही घण्टामै फेसबुक पोस्ट, युट्युब भिडियो र अनलाइन गप पोर्टलहरूले उनको नागरिकता नै प्रश्न गर्न थाले । एक टुक्रा प्रमाणबिना लोकतन्त्रमा यस्तो कुरा अभिव्यक्ति स्वतन्त्रता होइन— त्यो मानहानी हो, कानुन र विवेक दुबैको उल्लङ्घन हो ।

माओवादी पूर्व सांसद सांसद छिरिङ ल्हामु तामाङले ती आरोपहरूलाई प्रतिक्रियासहित खण्डन गरेक थिइन् । प्रमाण कहाँ छ? टाशी ल्हाजोम हुम्लाको लिमी हाल्जीकी हुन् । प्रमाणबिना उनलाई तिब्बती भन्नु उनीमाथि मात्र होइन, सम्पूर्ण आदिवासी समुदायको मर्यादामाथि गम्भीर अपमान हो । आदिवासी समुदायकी छोरीलाई तिब्बती भनेर आरोप लगाउने ज्ञानेन्द्र शाहीले तुरुन्त माफी माग्नुपर्छ । उनको यो आवाज लाखौं नेपाली आदिवासी छोरीहरूको पीडा हो । जो संघर्ष गरेर माथि उठ्छन्, तर पूर्वाग्रहले तानेर तल झारिन्छ ।

उनी देशप्रेमी हुन्
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विषयलाई स्पष्ट पार्दै भने टाशी ल्हाजोम देशप्रेमी हुन् । उनको परिवार लिमी हाल्जी गाउँमा धेरै पुस्ता अगाडिदेखि बसोबास गर्दै आएको छ । उनका हजुरबुबासँग दुई सयभन्दा बढी याक र हजारौँ भेडा थिए । उनका बुबा कहिल्यै गाउँ छोडेका छैनन् ।

शाहीले थपे, “अन्तर्राष्ट्रिय संस्थासँग काम गर्नु विदेशी एजेन्ट बन्नु होइन । यो उनकी क्षमता र दक्षताको प्रतिफल हो, जुन नेपालले आवश्यक ठानेको छ । दिल्लीमा अध्ययन गर्नु कसैलाई भारतीय बनाउँदैन, बरु यसले नेपाल विश्वस्तरीय प्रतिभा उत्पादन गर्न सक्षम भन्ने कुरा देखाउँछ । शाहीको बचाउ राजनीतिक मात्र नभई पूर्णतः नैतिक थियो । उनले त्यहाँ सत्यको पुनस्र्थापना गरे जहाँ झूटले त्यसलाई मेटाउने प्रयास गरिरहेको थियो र तथ्यको पक्षमा सार्वजनिक विश्वास कायम राखे ।

ज्ञानेन्द्र शाही भारतीय हुन्
प्रख्यात लेखक तथा विद्वान् प्राध्यापक महेन्द्र लावतीले तीतो तर यथार्थपूर्ण टिप्पणी गरे । टाशी ल्हाजोम हिमालकी छोरी र नेपाली नागरिक हुन् । यदि वंशले नागरिकता निर्धारण गर्छ भने राप्रपा पूर्व सांसद ज्ञानेन्द्र शाही स्वयं भारतीय ठहरिन्छन् । सन्देश स्पष्ट छ— नागरिकता थर, रङ वा अध्ययनस्थलले होइन, कानून, निष्ठा र जीवित पहिचानले निर्धारण गर्छ ।

प्रश्न नेपालको आत्माको हो?
टाशी ल्हाजोममाथिको आक्रमण कुनै एक व्यक्तिको विरोध मात्र होइन । यो त्यही दीर्घ परम्पराको भाग हो, जहाँ आदिवासी र सीमान्त समुदायका आवाजहरू सार्वजनिक जीवनमा देखिनासाथ शंका र निन्दाको लक्ष्य बन्छन् । उनको नागरिकतालाई प्रश्न गर्नु भनेको नेपालका सम्पूर्ण हिमाली समुदायको अस्तित्वलाई प्रश्न गर्नु हो । त्यही समुदाय जसले देशको उत्तर सिमाना जोगाइरहेका छन् ।

“आज टाशीमाथि आरोप लाग्छ, भोलि अर्को कसैमाथि लाग्नेछ । यो देश सबैको हो । लड्नै छ भने तथ्यका साथ लडौं, झूटका सहारा लिएर होइन ।” उनको चेतावनी भविष्यवाणीसरह छ — जब घृणा सामान्य बन्छ, त्यतिबेला कोही सुरक्षित हुँदैन ।

यदि कुनै राजनेता वा संस्थासँग टाशी ल्हाजोम नेपाली नागरिक होइन भन्ने प्रमाण छ भने, त्यो सार्वजनिक गर्नुपर्छ । यदि छैन भने कानुनी र नैतिक दायित्व मात्र माफी माग्नु हो; झुटो आरोप लगाउनेहरूमाथि कडा कानुनी कारबाही र उपयुक्त दण्ड सुनिश्चित गरिनुपर्छ ।

नागरिकता फेसबुकको जनमत सर्वेक्षणले होइन, कानुनी दस्तावेजले निर्धारण गर्छ । नेपालका जिल्ला प्रशासन, नागरिकता अभिलेख र राष्ट्रिय रजिस्ट्रि प्रणालीले स्पष्ट परिभाषा दिएका छन् । राजनीतिज्ञहरूले भाइरल लोकप्रियताका लागि त्यो प्रणालीलाई बाइपास गर्दा, उनीहरूले राज्यको विश्वसनीयतालाई क्षति पुर्याउँछन् ।

FAO, संयुक्त राष्ट्रसंघ वा अमेरिकी दूतावासबाट मान्यता प्राप्त गर्नु देशद्रोह होइन— त्यो गौरवको चिन्ह हो । टाशी ल्हाजोमको वातावरणीय अभियानले नेपालका नाजुक हिमाली वातावरणतर्फ विश्वको ध्यान आकर्षित गराएको छ । उनको आवाजले राष्ट्रलाई कमजोर बनाउँदैन, बरु अझ सशक्त बनाउँछ ।

नेपालका लागि खतरा त्यो छोरी होइन जसले विश्वभर नेपालको सन्देश फैलाउँछिन् । वास्तविक चुनौती त्यो नेता हो जसले हामी र तिनीहरू भनेर नेपालीहरूबीच विभाजन सिर्जना गर्छ ।

नेपालका सञ्चारमाध्यमहरू विशेष गरी सामाजिक र डिजिटल प्लेटफर्महरूले आफ्नो भूमिका गहिरो आत्मसमीक्षा गर्नुपर्छ । पत्रकारिताको स्वतन्त्रतासँगै एउटा पवित्र दायित्व छ– पुष्टि नगरी कुनै सामग्री प्रकाशित नगर्ने । जब पत्रकारहरूले अप्रमाणित दावीलाई सनसनीपूर्ण शीर्षकमा परिणत गर्छन्, उनीहरूले मात्र व्यक्तिको प्रतिष्ठामा आघात गर्दैनन्, सत्यको अस्तित्व र सार्वजनिक विश्वासमाथि पनि गहिरो चोट पुर्याउँछन् ।

टाशी ल्हाजोम नेपाली हुन्— कानुनले, वंशले र मातृभूमिप्रतिको ममताले । उनका बुबा हाल्जी गाउँमै बसोबास गर्छन्, परिवारको इतिहास हुम्लाका ढुंगामा अंकित छ, र उनको मातृभूमिप्रतिको सेवाभाव नै उनको पहिचानको आधार हो ।

अब प्रमाणको जिम्मेवारी उनका विरोधीहरूमाथि छ । के तपाईंहरूसँग कुनै आधिकारिक प्रमाण छ? कुन अधिकारका आधारमा उनको नागरिकतामाथि प्रश्न उठाइयो? यदि प्रमाण छैन भने नेपालले उनलाई समर्थन गर्नुपर्छ, विरोध होइन । किनभने यो संघर्ष एउटी महिलाको नागरिकताको विषय मात्र होइन । यो सत्य र झूटको कोलाहलबीच रहिरहने राष्ट्रिय प्रतिष्ठा र न्यायको प्रश्न हो ।

यो लेख दक्षिण एशियामा पहिचान, लोकतन्त्र र मर्यादा सम्बन्धी निरन्तर श्रृंखलाको हिस्सा हो । नेपालका लोकतान्त्रिक संस्थाहरू अहिले निर्णायक मोडमा छन् ।  के उनीहरूले प्रमाणलाई प्राथमिकता दिनेछन्, वा पूर्वाग्रह र सामाजिक सञ्जालको हिस्टेरियालाई? टाशी ल्हाजोमको कथा एउटी युवतीको यात्रा होइन— यो राष्ट्रको अन्तरआत्मामा राखिएको दर्पण हो ।


Facebook Comments