पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, मंगलबारदेखि थुनछेक बहस

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ece1aeb1baa.jpg

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार, महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजायको माग दाबी गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरालाई आइतबार पक्राउ गरेको थियो । उनीविरुद्धको थुनछेक बहस मंगलबारदेखि सुरु हुनेछ ।

महरामाथि २०७९ पुस १० मा चिनियाँ नागरिक लि हानसोङले विद्युतीय चुरोट ’भेप’मा लुकाएर ल्याएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ । भेपमा सुन तस्करी भएको शंकापछि उक्त भेप लामो समयसम्म भन्सारमै थन्किएको थियो ।

यो प्रकरणमा यसअघि नै सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारका नासुसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूरक अभियोजनमा राहुल महरासहित अन्यलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो ।


Facebook Comments