बागमतीमा लाइसेन्स प्रक्रिया डिजिटल बनाइँदै, मन्त्री थापा भन्छन्, ‘भवन जल्न सक्छन्, सेवा रोकिन्न’

हेटौंडा । गत भदौ २३ र २४ गतेको जेनजी युवा प्रदर्शनबाट ठूलो क्षति बेहोरेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले अब डिजिटल ट्रान्सफर्मेसन र फेसलेस गभर्नेन्स मार्फत जनमुखी सेवालाई निरन्तरता दिने घोषणा गरेको छ ।
सोमबार पत्रकार सम्मेलनमा मन्त्री जयराम थापाले क्षति भएका सवारीसाधनको जिम्मेवारी लिँदै कर छुट, नवीकरण दस्तुर मिनाहा र आंशिक क्षति भएका साधनको कर माफीको प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
आन्दोलनका क्रममा मन्त्रालयको मुख्य भवन पूर्ण क्षतिग्रस्त भएको छ भने २ वटा यातायात व्यवस्था कार्यालय पूर्णरुपमा र २ वटा आंशिक रुपमा क्षति भएका छन् । प्रदेश सरकारका १ सय ९५ सवारीसाधन (२१ करोड ६७ लाख बराबरको) जलेर नष्ट भएका छन् ।
मन्त्रालयले स्मार्ट ड्राइभिङ लाइसेन्स प्रणालीमार्फत् अब लाइसेन्स प्रक्रिया डिजिटल बनाउने बताएको छ । उक्त प्रणालीमा राष्ट्रिय परिचयपत्रसँग एकीकृत क्युआर कोडयुक्त लाइसेन्स वितरण हुनेछ ।
बागमती भेहिकल रजिष्ट्रेसन सिस्टम र ई–ब्लुबुक प्रणालीमार्फत् सवारी कर, नवीकरण तथा विवरण अद्यावधिक गर्न अब अनलाइन भुक्तानी प्रणालीमार्फत् सुबिधा उपलब्ध हुनेछ ।
‘अब सेवाग्राहीले अनलाइनबाट प्रक्रिया पूरा गरी घरमै बसेर सेवा प्राप्त गर्न सक्नेछन्’ मन्त्री थापाले भने, ‘बिचौलिया संस्कार अन्त्यका लागि यातायात कार्यालयहरुलाई बिचौलियानिषेध क्षेत्र घोषणा गर्छौं ।’
प्रदर्शनका कारण कार्यालय बन्द हुँदा सेवावञ्चित सेवाग्राहीलाई लाग्ने जरिवाना मिनाहा गरिने पनि मन्त्रालयले जानकारी दिएको छ । सेवाप्राप्तिमा कुनै अवरोध आए ९८५१०४५५४० मा सीधा मन्त्रीलाई सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रदेश सरकारले १० हजार युवालाई रोजगार सिर्जना, ५ सय युवालाई निःशुल्क ड्राइभिङ तालिम र लाइसेन्स वितरण गर्नेछ । साथै, यातायात व्यवस्था सुधारका लागि उच्चस्तरीय ३ सदस्यीय समिति गठनको तयारी र ट्रायल तथा स्वास्थ्य परीक्षण केन्द्रहरुको स्तरोन्नति पनि प्राथमिकतामा रहेको मन्त्री थापाले जानकारी दिए ।
मन्त्री थापा भन्छन्, ‘हाम्रा भवनहरु जल्न सक्छन् । तर, सेवा रोकिन्न । अब नागरिकको हातमा भएको मोबाइल नै सरकारी कार्यालय हो ।’ उनले नागरिक, श्रमिक र सिपको सम्मान गर्दै बागमती प्रदेशलाई पारदर्शी, उत्तरदायी र डिजिटल प्रशासनतर्फ अग्रसर बनाउने प्रतिबद्धता दोहोर्याए ।
Facebook Comments