कञ्चनरुप नगरपालिकाका मेयरले गरे पत्रकारमाथि दुर्व्यवहार, नगर प्रहरी लगाएर डिलिट गरे भिडिओ
दोषीलाई कानुनी कठघरामा ल्याउन पत्रकार महासंघको माग


काठमाडौं । नेपाल पत्रकार महासंघले पेसागत धर्म निर्वाह गर्दा पत्रकार मनोजकुमार माझी र अनिश शेखलाई सप्तरीमा गरिएको दुर्व्यवहार र काममा अवरोध पुर्याइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ सप्तरी शाखाका अनुसार यही असोज २७ गते जग्गाको बारेमा अदालतको फैसला कार्यान्वयनमा प्रहरीको प्रयासका सम्बन्धमा समाचार संकलन गरिरहेका पत्रकार माझीलाई स्थानीय व्यक्तिहरुले दुर्व्यवहार र हातपात गरेका छन ।
यसैगरी तलब नपाएको विषयमा कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधि र शिक्षकहरुविच भएको वार्ताको समाचार संकलन गरिरहेका बेला पत्रकार शेखलाई नगरप्रमुख ललनप्रसाद गुप्ता स्वयमले दुर्व्यवहार गर्नुका साथै नगर प्रहरी लगाएर फोटो तथा भिडियो डिलिट गराउन लगाए ।
महासंघका महासचिव रामप्रसाद दाहालले आज एक विज्ञप्ति जारी गर्दै दुबै घटनाको निन्दा र भर्त्सना गरेका छन्। साथै उनले दोषीलाई कानुनी कठघरामा ल्याउन र बिना त्रास पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बद्ध पक्षसँग जोडदार माग गरेका छन् ।
Facebook Comments