खेरसोनमा राष्ट्रसंघको सहायता टोलीमाथि रूसले गर्‍यो ड्रोन आ*क्रमण

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ee7c6a348eb.jpg

किभ । युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन क्षेत्रमा रूसले संयुक्त राष्ट्रसंघको राहत सामग्री बोकेको सवारीमाथि आक्रमण गरेको युक्रेनी अधिकारी र संयुक्त राष्ट्रसंघले बताएका छन् । घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार, चारवटा सवारी साधनबाट राहत लिएर फ्रन्टलाइनमा रहेको बिलोजेर्का नगर जाँदै गरेको टोलीमाथि रूसी (ड्रोन) र तोपबाट आक्रमण गरिएको हो ।

“संयुक्त राष्ट्रसंघको नाम स्पष्ट रूपमा अंकित गरिएको चारवटा मानवीय सहायता बोकेको गाडीहरू रूसी सेनाको आक्रमणको सिकार बने,” संयुक्त राष्ट्रसंघको विज्ञप्तिमा भनिएको छ ।

“यस्ता आक्रमणहरू पूर्ण रूपमा अस्वीकार्य छन् । राहतकर्मीहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनले सुरक्षा दिएको हुन्छ र उनीहरूलाई लक्षित गर्नु हुँदैन,” युक्रेनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय समन्वयकर्ता माट्थियास श्मालेले भने । 

उनले जानकारी दिएअनुसार, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम अन्तर्गत रहेका दुई गाडीहरू क्षतिग्रस्त भएका छन् भने बाँकी दुई गाडी भने सुरक्षित छन् ।

संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य एजेन्सी (यूएनएफपीए) ले ती गाडीहरू ८०० व्यक्तिगत राहत सामग्री बोकेका जनाएका थिए, जुन जेष्ठ नागरिक, महिला र किशोरीहरूका लागि अत्यावश्यक सामानहरू थिए ।

“उक्त क्षेत्रमा जेष्ठ नागरिकहरूको सङ्ख्या अत्यधिक छ, र धेरैजसोले बमबारी र ड्रोन आक्रमणका कारण अन्यत्र जान सक्दैनन् । उनीहरूको जीविकोपार्जन राहतमै निर्भर छ,” युक्रेनका लागि यूएनएफपीएका प्रतिनिधि ज्याकलिन माहोनले बताए । 


Facebook Comments