पाकिस्तान–अफगान सीमा क्षेत्रमा झडप: १५ जनाको मृ*त्यु, ८० बढी घाइते

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68ef72477db30.jpg

एजेन्सी । अफगानिस्तान–पाकिस्तान सीमास्थित दक्षिणी स्पिन बोल्दाक क्षेत्रमा रातभर चलेको भीषण झडपमा कम्तीमा १५ जना सर्वसाधारणको ज्यान गएको र ८० भन्दा बढी महिला तथा बालबालिका घाइते भएको अफगान अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

स्थानीय सूचना विभागका प्रवक्ता अली मोहम्मद हक्मालले १५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेका छन् । स्पिन बोल्दाक जिल्ला अस्पतालका अधिकारी अब्दुल जान बारकले ८० भन्दा बढी महिला र बालबालिका घाइते भएको एएफपीलाई जानकारी दिए ।

तालिबान सरकारका प्रवक्ता जबीउल्लाह मुजाहिदले पाकिस्तानी सुरक्षाकर्मीहरूले ’हल्का र भारी हातहतियार प्रयोग गर्दै आक्रमण गरेको’ आरोप लगाएका छन् । तालिबानका अनुसार १२ सर्वसाधारणको मृत्यु र १०० भन्दा बढी घाइते भएका छन् ।

तालिबानले पाकिस्तानी सैनिकहरू मारिएपछि स्थिति सामान्य बनेको र पाकिस्तानी चौकी र हतियार कब्जामा लिइएको दाबी गरेको छ ।

यो हिंसात्मक घटना दुई देशबीच पाकिस्तानी तालिबान (टीटीपी) लाई आश्रय दिएको आरोपसहितको कसिलो सम्बन्ध र आपसी आरोप–प्रत्यारोपबीच भएको हो । 

तालिबानका अनुसार बिहीबार काबुलमा भएको बम विस्फोटको जवाफस्वरूप पाकिस्तानले हवाई आक्रमण गरेपछि उनीहरूले प्रतिकारमा आक्रमण गरेका हुन् ।

झडपका कारण क्षेत्रका सबै पसल, बजार र सार्वजनिक सेवा बन्द छन् भने धेरै स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानतर्फ पलायन भएका छन् । पाकिस्तानले भने अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन ।


Facebook Comments