हाइटेन्सन लाइन प्रभावितहरूको विरोध, निर्माण कार्य तत्काल रोक्न माग

हेटौंडा । हाइटेन्सन लाइन पीडित संघर्ष समितिले नेपाल विद्युत प्राधिकरण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनालाई हेटौंडा–धल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन निर्माण कार्य तत्काल रोक्न माग गरेको छ।
समितिले २०८२ असोज १९ गते नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूसँग भएको छलफलमा उचित सहमति नजुटेको र प्रभावित स्थानीय नागरिकको हकहित बेवास्ता गरिएको भन्दै पुनः विरोध स्वरूप चेतावनी पत्र जारी गरेको हो।
समितिका अनुसार प्रसारण लाइनका टावरहरू हेटौंडा–१६ को हिलेटार र आसपासका बस्ती हुँदै जाँदा स्थानीय बासिन्दाको जग्गा र बस्ती प्रभावित हुने देखिएको छ। प्रभावितहरूले उचित मुआब्जा, पुनःस्थापनाको व्यवस्था र वैकल्पिक मार्ग निर्धारण नगरी जबर्जस्ती टावर निर्माण कार्य अघि बढाइएको भन्दै आपत्ति जनाएका छन्।
संघर्ष समितिका संयोजक हरि प्रसाद बानियाँद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “स्थानीय नागरिकको सहमति विना जबर्जस्ती टावर निर्माण गर्ने कार्य गैरकानूनी र अन्यायपूर्ण भएकोले तत्काल स्थगन गरिनुपर्छ।”
समितिले आगामी असोज २२ गते हेटौंडा–१६ स्थित सभाहलमा सर्वसाधारण र प्रभावित नागरिकको भेलाको आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने बताएको छ।
उक्त पत्रको प्रतिलिपि मकवानपुर जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकामा समेत पठाइएको छ।
Facebook Comments