जसपा मधेश प्रदेश अधिवेशनमा विवाद उत्पन्न, एक पक्षले गर्यो बहिष्कार

जनकपुर । जनकपुरधाममा जारी जसपा नेपाल मधेस प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।
जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रकृया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका छन् ।
यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रकृयाको बहिष्कार गरेका छन् । साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले समेत अध्यक्ष पदका उम्मेदवार यादवको समर्थन गर्दै अधिवेशन बहिष्कार गर्ने जनाएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार यादवले जसपा नेपालको विधानविपरित अधिवेशन भईरहेकोले आफूहरुले अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको बताए ।उनले अध्यक्ष पदका अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरित आफूखुशी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए । आफूहरुलाई बन्दसत्रमा समेत बेवास्ता गरिएको उनको आरोप छ ।
मधेश प्रदेश अधिवेशनमा आज निर्वाचनको सम्पूर्ण कार्यतालीका सार्वजनिक गरिएकोमा अहिले बहिष्कार गरिएको पक्षबाहेक उपस्थित अन्य उम्मेदवार एवम मतदाताहरुको बाँकी प्रक्रिया थालिएको छ । अन्य पदहरुमा उम्मेदवारीको प्रक्रिया समेत अघि बढाइएको छ ।
Facebook Comments