उरुग्वेमा इच्छामृत्युलाई कानूनी मान्यता

एजेन्सी । उरुग्वेले बुधबार ऐतिहासिक निर्णय गर्दै इच्छामृत्युलाई कानूनी मान्यता दिएको छ । यो सँगै उरुग्वे आत्महत्याका लागि सहयोग गर्न कानूनी रूपमा अनुमति दिइएका मुलुकहरूमा ल्याटिन अमेरिकाको पहिलो र विश्वका करिब एक दर्जन देशमध्ये एक बनेको छ ।
दक्षिण अमेरिकाको सानो तर सामाजिक रूपमा प्रगतिशील देश उरुग्वेले यसअघि पनि मारिजुआना, समलिङ्गी विवाह र गर्भपतनलाई वैधानिकता दिँदै उदार कानूनहरूको इतिहास बनाइसकेको छ। अब ‘गरिमापूर्ण मृत्यु’ सम्बन्धी विधेयक पारित भएपछि इच्छामृत्यु पनि त्यस सूचिमा थपिएको हो ।
सिनेटमा भएको मतदानमा उपस्थित ३१ मध्ये २० जना सांसदले विधेयकको समर्थन गरेका थिए । तल्लो सदन अर्थात् प्रतिनिधिसभाले यसअघि अगस्टमा यसलाई अनुमोदन गरिसकेको थियो । करिब १० घण्टासम्म चलेको गम्भीर र भावनात्मक बहसपछि यो मतदान सम्पन्न भएको हो । यसलाई धेरै सांसदले ‘राजनीतिक रूपमा सबैभन्दा कठिन विषय’ भनेका थिए ।
विधानसभा भवनको ग्यालरीमा उपस्थित दर्शकमध्ये केहीले निर्णयपछि ‘हत्याराहरू’ भन्दै नाराबाजी गरे पनि बहस प्रायः मर्यादित र सभ्य रहेको थियो ।
“म अहिले अत्यन्त राहत र खुशी महसुस गर्दैछु”, इच्छामृत्युका समर्थक फ्लोरेन्सिया सालगुइरोले मतदानपछि एएफपीसँग भने । उनले आफ्ना दिवङ्गत पिताको पीडादायी अन्तिम दिन सम्झिँदै भने, “मेरो बुबा ल्यु गेहरिग रोगले असह्य पीडा भोग्दै बाँच्न बाध्य हुनुभयो, तर आफ्नो इच्छा पूरा नगरी नै जानुभयो ।”
ल्याटिन अमेरिकामा इच्छामृत्युबारे कानूनी मान्यता दिने प्रयासमा उरुग्वे अग्रणी बनेको छ। कोलम्बिया र इक्वेडरमा अदालतले कानून पारित नगरी नै इच्छामृत्युलाई अपराधमुक्त गरेको छ भने क्युबाले टर्मिनल बिरामीलाई कृत्रिम जीवन समर्थन अस्वीकार गर्ने अधिकार दिएको छ ।
Facebook Comments