समाजमा योगदान पुर्‍याएको भन्दै टेम्केमैयुङ गाउँपालिकाले गर्‍यो ज्येष्ठ नागरिकलाई सम्मान

User Image मेयरसाप डेस्क | २०८२ असोज ३१ गते १७:००
Image of https://mayorsap.com/storage/photos/10/68f197b6b429e.jpg

भोजपुर । समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ३५औँ अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनीहरूलाई ‘जेष्ठ महामानार्थ सम्मान–२०८२’ प्रदान गरिएको हो ।

सम्मानित हुनेमा वडा नं १ की एक सय पाँच वर्षीया लमीकुमारी राई,  वडा नं ४ नागीका १०२ वर्षीय इन्द्रबहादुर राई र वडा नं ३ अन्नपूर्णका ९८ वर्षीय भीमप्रसाद राई रहेका छन् ।  

कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले ज्येष्ठ नागरिक राष्ट्रका गौरव र समाजका जीवन्त सम्पदा भएको बताए । उनले भने, “ज्येष्ठ नागरिकले दिएको ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको मार्गदर्शन हुन् । उनीहरूको सम्मान गर्नु हाम्रो साझा जिम्मेवारी हो ।”

उपाध्यक्ष रमादेवी राईले ज्येष्ठ नागरिकको स्याहारसुसार र अधिकार संरक्षण गाउँपालिकाको प्राथमिकता रहेको बताए । ज्येष्ठ नागरिकको जीवन सहज र सम्मानित बनाउन गाउँपालिकाले सहयोगमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकप्रतिको कदर र सम्मान भावनाले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताएका थिए ।  


Facebook Comments