पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु


काठमाडौं । पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ । खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ ।
शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ ।’
एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । तीनै खेलाडी पक्तिका प्रान्तको राजधानी शरानामा भएको मैत्रीपुर्ण क्रिकेट खेलमा सहभागी हुन गएका थिए । खेल सकेर घर फर्किएपछि उनीहरू स्थानीय जमघटमा सहभागी भइरहेका बेला हवाई आक्रमणको निशाना बनेका थिए ।
विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनामा उरगुन जिल्लाका खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित अन्य पाँच जना सहनागरिक मारिएका छन् भने सात जना घाइते भएका छन् । यो अफगानिस्तानको खेल समुदायका लागि ठूलो क्षति हो ।’
एसीबीले शोक सन्तप्त परिवारहरू र पक्तिका प्रान्तका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै आगामी नोभेम्बर अन्त्यतिर पाकिस्तान र श्रीलंकासँग आयोजना गर्न लागिएको त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलाबाट अफगानिस्तानले आफ्नो सहभागिता फिर्ता लिने निर्णय गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,‘यस दुखद घटनाप्रति श्रद्धाञ्जलि र सम्मानस्वरूप अफगानिस्तान क्रिकेट बोर्डले पाकिस्तान समावेश त्रिदेशीय टी–२० आई श्रृंखलामा भाग नलिने निर्णय गरेको छ ।’एसीबीले आफ्नो सन्देशको अन्त्यमा प्रार्थना गर्दै भनेको छ,‘अल्लाहले सहिदहरूलाई उच्च स्थान प्रदान गरून्, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् र पीडित परिवारहरूलाई यो कठिन समयमा धैर्य र शक्ति प्रदान गरून् ।’
यसअघि शुक्रबार पाकिस्तानले अफगानिस्तानको दक्षिणपूर्वी पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो । जसले हालैको युद्धविराम सम्झौतामाथि उल्लंघन गरेको टोलो न्युजले जनाएको छ ।टोलो न्युजका अनुसार यी आक्रमणहरू उरगुन र बर्मल जिल्लाका आवासीय क्षेत्रमा लक्षित थिए, जसमा उल्लेख्य संख्यामा नागरिक हताहत भएका छन् । यो आक्रमण अफगानिस्तान र पाकिस्तानबीचको ४८ घण्टे युद्धविरामको बीचमा भएको हो । जुन तीव्र सीमा संघर्षपछि लागू गरिएको थियो । पाकिस्तानले दोहा वार्ताको निष्कर्ष ननिस्किँदासम्म युद्धविरामको अवधि बढाउन माग गरेको थियो ।
पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै दुबै देशबीच ४८ घण्टे अस्थायी युद्धविराम लागू भएको र वार्ताबाट समस्याको समाधान खोज्ने प्रयास भइरहेको जनाएको थियो ।
तालिबान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले पनि एक्समा लेख्दै अफगान सेनालाई युद्धविरामको पालना गर्न निर्देशन दिइएको बताए, ‘जबसम्म कुनै प्रकारको आक्रमण हुँदैन, युद्धविराम कायम रहनेछ ।’
Facebook Comments