काटेको धानबाली चुट्नमा व्यस्त बाजुराका किसान

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f3282314045.jpeg

बाजुरा । बाजुराका किसान यतिबेला काटेको धानबाली चुट्नमा व्यस्त रहेका छन् । यहाँका नौं वटै स्थानीय तहका कृषकहरु आफ्नो खेतबारीमा लगाएको धानबाली चुटेर भित्र्याउनमाा व्यस्त छन् ।

असारको महिना लगाएको धानबाली यतिवेला काटेर सकिए पश्चात् धमाधम चुट्ने काम चलिरहेको छ । कतिपय बाँकी रहेका ठाउँमा भने धान काट्ने काम जारी नै छ । यहाँका गाउँबस्तीमा स्थानीय बालीनाली भित्र्याउने काममा व्यस्त देखिन्छन् ।

बाजुराका नौं वटै स्थानीय तहका किसान बिहानदेखि बेलुकी अवेरसम्म खेतबारीमा व्यस्त छन । खेतमा लगाएको धानसँगै कागुनु, झुमरो, चिनो र फापर काट्ने, सुकाउने,चुट्ने काम भ्याईनभ्याई छ । त्यस्तै खाली भएका खेतबारी जोत्ने,खन्ने,जौ,गहुँ छर्ने काम एकसाथ गरिरहेका छन् ।

किसानलाई खेतमा काटेको धानबाली भित्र्याउन भ्याईनभ्याई रहेको बडीमालिका नगरपालिका वडा.नम्बर ७ का स्थानीय कृष्णदेव तिमिल्सेनाले बताए । काटेको अन्नबाली घर भित्र्याउनुपर्ने चटारोले बिहानै खेतमा पुगेपछि राती अवेरसम्म खेतमै काम गर्नुपर्ने बाध्यता रहेको तिमिल्सेनाको भनाइ छ ।

बाजुरा जिल्लामा धान खेतिका लागि कुल क्षेत्रफल ७२३० हेक्टर सिंचित र रोपाइँ हुने खेत ५२०० हेक्टर, असिंचित र पाखो धान खेती २०३० हेक्टर रहेको कृषि ज्ञान केन्द्रको तथ्याकं रहेको छ ।

त्यस्तै कुल खेती गरिएको जमिन २६१६ हेक्टर छ ।कुल खेती गरिएको क्षेत्रफलको २७.३५ मा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

बाजुरामा आर्थिक बर्ष २०८०÷०८१ मा १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो भने आर्थिक बर्ष २०८१÷०८२ मा कुल ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो यस बर्ष पनि राम्रो धान उत्पादन हुने कृषि ज्ञान केन्द्र बाजुराले अपेक्षा लिएको छ ।


Facebook Comments