सचिवालय विस्तारप्रति तोसिमा भन्छिन्– ‘हामीले खोजेको रिफर्मेसन यो होइन’


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेता तोसिमा कार्कीले पार्टीको सचिवालय विस्तार गर्ने निर्णयप्रति असन्तुष्टि जनाएकी छिन् ।
रिफर्मेसन (सुधार) को एजेन्डा उठिरहेको र विस्तारित बैठक तय भइसकेको अवस्थामा त्यसलाई समेत नकुरी सचिवालय विस्तार गरिएकोमा उनले सामाजिक सञ्जालमार्फत विरोध गरेकी हुन् ।
उनी लेख्छिन्, ‘महाअधिवेशन कहिले गर्ने भन्ने निर्णयका लागि २ हप्तामा हुन लागेको विस्तारित बैठकसमेत नकुरी सचिवालय विस्तार गरियो। हामीले खोजेको रिफर्मेसन यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।’
नयाँ र वैकल्पिक शक्तिहरूलाई एकीकृत गर्नका लागि पदहरू खाली राख्नुपर्ने भन्दै सचिवालय विस्तारको प्रस्ताव रोक्न कार्कीले माग गरेकी छन् ।
पार्टी थप लोकतान्त्रिक हुन र कार्यशैली सच्याउन जरुरी रहेको बताउँदै उनले यही कार्तिक १४ र १५ गते चितवनमा हुने विस्तारित बैठकमा संगठनको वृहत् सहभागिता र ’भोटिङ राइट्स’को सुनिश्चितता गर्न माग गरिन् ।
शनिबार सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल सहित चार जना प्रत्यक्ष निर्वाचित सांसदहरू सचिवालय सदस्यमा मनोनीत भएका छन् । यसपछि सचिवालय १४ सदस्यीय बनेको छ ।
Facebook Comments