मुख्यमन्त्री बानियाँद्वारा विपन्नलाई भूकम्प प्रतिरोधी घर हस्तान्तरण
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रकुमार बानियाँले आफ्नो सरकारी सेवाबाट जनताको जीवनस्तर सुधार गर्न थालेको अभियान अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा एक विपन्न परिवारका लागि घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
मनहरी गाउँपालिका–९, ज्यामिरेकी मिठो माया सुनुवारका लागि बनाइएको घर शुक्रबार एक विशेष समारोहबीच औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
उक्त घर पूर्णरूपमा भूकम्प प्रतिरोधी प्रविधिबाट तयार पारिएको छ । निर्माण समितिका अनुसार घरको अनुमानित लागत रु.४ लाख ६५ हजार रहेको छ । घरमा आवश्यक आधारभूत सुविधा जस्तै पानी, बिजुली, र सुरक्षित बासको व्यवस्था गरिएको छ ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मुख्यमन्त्रीप्रति आभार प्रकट गर्दै भने, ‘मुख्यमन्त्री बानियाले आफ्नो सेवा र सुविधाबाट विपन्न परिवारलाई घर निर्माणमा सहयोग गरेर मानवीय उदाहरण प्रस्तुत गर्नुभयो । यसले हामी सबै जनप्रतिनिधिलाई पनि प्रेरणा दिएको छ ।’
घर हस्तान्तरणपछि मुख्यमन्त्री बानियाँले यस्तो जनसेवामुखी अभियानलाई अझै विस्तार गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘आज मिठो माया सुनुवारको घर हस्तान्तरण गर्न पाउँदा गर्व महसुस भइरहेको छ । बागमती प्रदेशमा ५,००० विपन्न र घरविहीन नागरिकका लागि आवास निर्माण गर्ने लक्ष्य हामीले लिएका छौं ।’
मुख्यमन्त्रीले अगाडी थपे, ‘मनहरी गाउँपालिकाले सिफारिस गरेको यो परिवार साँच्चिकै विपन्न र अप्ठ्यारो अवस्थाको कारण सहयोगका लागि योग्य थियो । सबै विवरण पारदर्शी रूपमा राखिएको छ ताकि कुनै विवाद नहोस् ।’
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, निर्माण समिति, स्थानीय बासिन्दा र प्रदेश सरकारका अधिकारीहरूको उपस्थिति थियो । सहभागीहरूले मुख्यमन्त्रीको यो प्रयासलाई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उदाहरणीय कदम भनेर स्वागत गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले जनताको साना–ठूला समस्या समाधानमा सरकार सधैं प्रतिबद्ध रहने बताएका थिए ।
Facebook Comments