तिहार एवं देउसी–भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया

User Image मेयरसाप डेस्क | १० घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/68f7582997a37.jpg

काठमाडौं । नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले आज यहाँ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 

‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद्, अध्येता, जनप्रतिनिधि, धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आफ्नो आधार राखे । 

पत्रकार समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रको सभापतित्वमा भएको कार्यक्रममा तिहार पर्वसँग सम्बन्धित देउसी र भैलो संस्कृतिको ऐतिहासिकता, शास्त्रीय मूल आधार, सामाजिक सन्देश तथा आधुनिक परिवेशमा यसको संरक्षण र सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा भवानीप्रसाद खतिवडाले देउसी र भैलोको उत्पत्ति, भाषिक व्युत्पत्ति, धार्मिक सन्दर्भ र जनश्रुतिमा आधारित कथाहरूको विश्लेषण गरे । उनले ‘देउसी’ शब्द ‘देउशिरी’ बाट उत्पत्ति भएको उल्लेख गर्दै प्राचीन समयमा राजा बलिको कथासँग यसको गहिरो सम्बन्ध रहेको सुनाए। तिहार पर्व प्रकृति, जीवजन्तु र मानव जीवनबीचको संवादको प्रतीकसमेत रहेको रहेको खतिवडाको भनाइ थियो । 

‘भैलो’ भन्ने शब्द ‘भवानी’ नामसँग सम्बन्धित भएको र विशेषगरी लक्ष्मी पूजापछिको साँझ गाउने परम्परा रहेको व्याख्या गरिएको थियो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव शुभास जोशी, संस्कृतिविद् डा बिनुबाबा अर्याललगायतले तिहार पर्वले नेपाली समाजमा सहिष्णुता, आपसी सद्भाव र सामूहिकताको भावना अभिवृद्धि गर्ने धारणा राखे। उनीहरूले यस पर्वलाई शुद्ध, सात्विक र समावेशी ढङ्गले मनाउने परम्परालाई बचाइराख्नुपर्नेमा जोड दिए। 

कार्यक्रमका अधिकांश वक्ताले देउसी–भैलोको परम्परागत स्वरूपमा आएको विकृति र त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बागमती सफाइ अभियन्ता गोविन्दप्रसाद काफ्ले, प्राडा ध्रुव भट्टराई, बौद्ध धर्मगुरुहरू, विभिन्न क्षेत्रका सांस्कृतिक अभियन्ता, पत्रकार तथा धार्मिक समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

समाजका अध्यक्ष मिश्रले यस्ता अन्तक्रिया कार्यक्रमले नेपाली मौलिक संस्कृतिको पुनरावलोकन र संरक्षणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे।


Facebook Comments