हेटौंडामा ‘छठ पूजा’ नाममा भारतीय नागरिकको ठगीधन्दा, स्थानीय प्रशासन मौन


मकवानपुर । हेटौडामा पछिल्ला केही दिनयता ‘छठ पूजा’को नाममा भारतीय नागरिकले घर–घर गई पैसा संकलन गर्ने गतिविधि तीव्र बनेको छ। आफूहरू ‘छठ पूजा समितिका प्रतिनिधि’ भएको दाबी गर्दै केही भारतीय नागरिकले बच्चाको उपचारका लागि चन्दा आवश्यक भन्दै स्थानीयबाट नगद उठाउने क्रम बढेपछि हेटौडाबासी आक्रोशित भएका छन्।
स्थानीयको भनाइअनुसार ती व्यक्तिहरूले बिहानदेखि बेलुकीसम्म टोलटोलमा गएर छठ पर्वका नाममा ‘दान दिनुहोस्, पुण्य कमाउनुहोस्’ भन्दै पैसा माग्ने गरेका छन्। कतिपय घरमा बालबालिका र महिलालाई समेत भावनात्मक रुपमा प्रयोग गरी नगद असुल्ने गरिएको बताइन्छ। स्थानीय मनोज लामाले भने, “छठ हाम्रो साझा पर्व हो, तर यहाँ यसलाई व्यापारको रूपमा प्रयोग गर्दै बाहिरी व्यक्ति पैसा उठाइरहेका छन्। प्रशासन भने चुपछाप छ।”
हेटौडामा यस्ता गतिविधि खुलेआम भइरहेको अवस्थामा हेटौडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुर कुनै कदम चाल्न नआग्रह गरेको भन्दै जनताले असन्तुष्टि जनाएका छन्।स्थानीयको भनाइमा, यसरी बिनानियन्त्रण पैसा उठाउने कार्य ठगीको स्वरूप हो, जसले धार्मिक विश्वासमा समेत आघात पुर्याइरहेको छ।
“हामीले प्रहरीलाई जानकारी गरायौँ, तर उनीहरूले ‘जाँच गर्छौँ’ भनेर छाडे। अहिले पनि ती व्यक्तिहरू खुल्ला रूपमा पैसा माग्दै हिँडिरहेका छन्,” अर्की स्थानीय लक्ष्मी चौलागाईंले भनिन्।
छठ पूजा हिन्दू धर्मावलम्बीहरूका लागि आस्था र विश्वासको पर्व हो। सूर्यदेव र छठीमाताको आराधना गर्दै महिलाले व्रत बस्ने यो पर्व धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। तर यसको नाममा ठगी र भिक्षाटन शैलीको संकलनले धार्मिक आस्थालाई नै कमजोर बनाइरहेको छ।
सामाजिक सञ्जालमा पनि हेटौडाका बासिन्दाले यसबारे असन्तुष्टि पोखिरहेका छन्। धेरैले लेखेका छन् — “छठमा पूजा होइन, ठगी सुरु भयो।” कतिपयले स्थानीय प्रशासनले यस्ता गतिविधि नियन्त्रण गर्न असफल भएको आरोप समेत लगाएका छन्।
यसैबीच, नागरिकले हेटौंडा उपमहानगरपालिकासँग स्पष्ट जवाफ माग्दै यस्ता अवैध संकलनमा रोक लगाउन माग गरेका छन्। उनले भने, “धार्मिक पर्वको नाममा बाहिरी व्यक्तिले नगद असुल्दा किन प्रशासन मौन छरु यसले अपराधलाई निम्त्याउने खतरा छ।”
हेटौडाका जानकारहरूका अनुसार यस्ता समूहले हरेक वर्ष चाडपर्वको नाममा विभिन्न बहाना बनाएर पैसा उठाउने गरेको इतिहास छ। यथोचित निगरानी र कारबाही नभए यसले स्थानीय सुरक्षा र सामाजिक सद्भावमा समेत असर पार्ने चेतावनी उनीहरूले दिएका छन्।
Facebook Comments