नेपाल निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरणमा प्रयत्नशील छः अध्यक्ष दाहाल


काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए।
अन्तर व्यवस्थापिका सङ्घ (आइपियू)को १५१औँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका अध्यक्ष दाहाल र अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डलसँग आज भएको भेटवार्तामा उनले नेपालमा जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन र चुनाव घोषणा भएको जानकारी गराए ।
त्यसक्रममा उनले भारतसँगको सम्बन्ध औपचारिक र देशबीचको मात्रै नभई जनता–जनताबीचको सम्बन्ध बलियो रहेको बताएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग पनि भेट गरेकाे । सो भेटमा उनले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताए।
जलवायु परिवर्तनको असरमा सहकार्य
यसैबीच, अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर, नवीकरणीय ऊर्जाको विकास र स्थानीय सुशासनलगायत क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच सहकार्य हुने विश्वास व्यक्त गरे। अष्ट्रेलियाका सभामुख मिल्टन डिकसँगको द्विपक्षीय भेटवार्तामा उनले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदानप्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे।
अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीच विविध क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे। उनले अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
Facebook Comments